सुचना, समाचार र मनोरन्जन

रुम्सी होमस्टेमा आन्तरिक पर्यटकको रोजाइमा

 

तनहुँ : तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे (घरबास) मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो।

यहाँ आउने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन रहेको छ । होमस्टे सञ्चालक समितिका अध्यक्ष सन्तोष रानामगरले यहाँ आउने पाहुनाहरू ग्रामीण परिवेश, पारिवारिक वातावरण र स्थानीय परिकारबाट प्रभावित हुने गरेका बताए । उनका अनुसार दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा रहेको यो गाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ।

Chaka Panja

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरेको थियो । यहाँ घरबास स्थापन गरी सञ्चालनमा ल्याउन प्रदेश सरकारले रु ६५ लाख र व्यास नगरपालिकाले रु ३५ लाख लगानी गरेका छन् । परियोजनाअन्तर्गत एक सय १० घरधुरीमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ भने ३० घरधुरीमा होमस्टे पूर्वाधार विकास गरिएको अध्यक्ष रानामगरले जानकारी दिए ।

व्यास–१४ वडाध्यक्ष काजीमान श्रेष्ठले पछिल्लो समय यो ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास हुन थालेको बताए । उनले भने, ‘ग्रामीण परिवेशमा रमाउन चाहनेहरू यहाँ आएर आनन्दित हुनुनहुन्छ।’ मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत् रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरी पर्यटन प्रवद्र्धन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । यसलाई नमूना बस्तीको रूपमा विकास गर्न गाउँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण गरिने उनले बताए ।

उनले भने, ‘पर्यटन तथा कृषिका गतिविधिका माध्यमबाट आर्थिक विकासका साथै सामाजिक सद्भाव अभिवृद्धि गर्दै रुम्सीलाई सुन्दर, शान्त, समृद्ध एवं सुरक्षित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।’ रुम्सी होमस्टे पुग्नुभएका दमौलीका सविन लामिछानेले यहाँका होमस्टे सञ्चालकको स्वागत, अर्गानिक खाना, प्राकृतिक सौन्दर्यले आनन्दित तुल्याएको उल्लेख गरे । यहाँ थप पर्यटन प्रवर्द्धन गर्दै स्थानीय सरकारले रोजगारीका अवसर सिर्जना गर्दै जानुपर्नेमा उनले जोड दिए ।

Leave A Reply

Your email address will not be published.