काठमाडौँ,
होटल सङ्घ नेपाल गण्डकीले होचो उचाइबाट छोटो समयमै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सम्बन्धित पक्षसँग अपील गरेको छ।
सङ्घका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले विज्ञप्ति निकालेर नेपालको सीमावर्ती तराई क्षेत्रबाट एकैदिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायत जोखिम बढेको उल्लेख गर्नुभएको छ ।
पर्यटकलाई आराम गर्दै अनुकूल यात्रा गर्ने वातावरणका लागि सम्बन्धित ट्राभल एजेन्सी, टूर अपरेटर र सरोकारवालासमक्ष सङ्घले अपिल गरेको छ । जोखिमपूर्ण प्रवृत्तिलाई न्यूनीकरण गर्न सरकारीस्तरबाट समेत आवश्यक पहल अगाडि बढाउन सङ्घले आग्रह गरेको छ ।
यसले पर्यटकको सुरक्षाका अतिरिक्त पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन पनि मद्दत पुग्ने विज्ञप्तिमा भनिएको छ ।
पर्यटनको राजधानी पोखरा हुँदै दैनिक हजारौँ पर्यटक विभिन्न ठाउँमा आवतजावत गर्ने गरेको भन्दै पर्यटनको सन्दर्भमा मानव स्वास्थ्य र सुरक्षाको पाटो महत्त्वपूर्ण हुने विषय पनि स्मरण गराइएको छ ।
पछिल्ला दिनमा नेपालको दक्षिण सीमावर्ती क्षेत्र र तराईबाट पोखरा हुँदै एकैदिनमा मुक्तिनाथ पुगेर पोखरा फर्कने पर्यटकहरूको ठूलै सङ्ख्या भेटिन थालेको संघले जनाएको छ । –उज्यालोअनलाईन