सुचना, समाचार र मनोरन्जन

भैरहवामा अत्याधुनिक आईएनआई सिनेमाज सञ्चालन, ३९६ सिटको क्षमता

काठमाडौं :

नेपालमा सिनेमा घर थपिने क्रम जारी छ। रुपन्देहीको सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरमा अत्याधुनिक सुविधा सम्पन्न ‘आईएनआई सिनेमाज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। यो फिल्म हल गत शुक्रबारदेखि सञ्चालनमा आएको हो। भाटभटेनी सुपरस्टोरको पाँचौँ तलामा स्थापना गरिएको यो मल्टिप्लेक्स रहेको यो हलले लुम्बिनी प्रदेशको मनोरञ्जन तथा पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा फिल्मकर्मीको छ।

यस नयाँ मल्टिप्लेक्समा कुल ३९६ दर्शकले एकैपटक सिनेमा हेर्न सक्ने गरी १९८–१९८ सिट क्षमताका दुईवटा अत्याधुनिक अडिटोरियम रहेका छन्। हलमा अन्तर्राष्ट्रिय स्तरको सिनेमा अनुभवका लागि बेल्जियममा निर्मित बार्को लेजर प्रोजेक्टर,१६ च्यानल डीटीएस(एक्स इमर्सिभ साउण्ड सिस्टम तथा आधुनिक सिटिङ सुविधा जडान गरिएको छ। सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिँदै हलमा आगलागी प्रतिरोधी सामग्री र आकस्मिक बहिर्गमन मार्गको समेत उचित व्यवस्था गरिएको सञ्चालक सुरेन्द्र थापाले जानकारी दिए।

हलका संरक्षक एवं व्यवसायी दीपक कुँवरले भैरहवा तीव्र रूपमा विकसित हुँदै गएको व्यावसायिक तथा पर्यटन केन्द्र भएकाले आधुनिक सिनेमा हलको आवश्यकता महसुस गरी लगानी गरिएको बताए। कम्पनीका निर्देशक आभाष कुँवरले विदेशमा हासिल गरेको अनुभवलाई नेपालमा उपयोग गर्दै युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने उद्देश्यले यो सेवा विस्तार गरिएको उल्लेख गरे।

सन् २०१९ मा स्थापना भएको आईएनआई सिनेमाजको काठमाडौं, बुटवल, सिमरा र नवलपुरपछि भैरहवामा यो नयाँ शाखा थपिएसँगै कुल स्क्रिन संख्या १३ पुगेको छ। दर्शकहरूले सिनेमाको टिकट वेबसाइट तथा विभिन्न डिजिटल भुक्तानी माध्यममार्फत सजिलै खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ।

Leave A Reply

Your email address will not be published.