काठमाडौं :
नेपाली गीत ‘आँखा झिमझिम भो…’ ले अन्तर्राष्ट्रिय फुटबल जगतमा अप्रत्याशित ध्यान खिचेको छ। युरोपको चर्चित इटालियन फुटबल क्लब इन्टर मिलानले आफ्नै आधिकारिक फेसबुक पेजमा उक्त गीतको पंक्ति पृष्ठभूमिमा प्रयोग गर्दै नेपाली भाषामै क्याप्सन लेखेपछि यो विषय चर्चामा आएको हो।
इन्टर मिलानले सार्वजनिक गरेको भिडियोमा नेपाली गीतको एक अंश बजाइएको छ भने क्याप्सनमा लेखिएको छ, ‘सबैभन्दा महान : रोनाल्डो द फेनोमेनन । नेपालबाट थप सामग्रीका लागि हामीलाई पछ्याउनुहोस् ।’ विश्वविख्यात क्लबले नेपाली भाषा र गीत प्रयोग गर्नु आफैंमा दुर्लभ घटना मानिएको छ।
उक्त गीत नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीले रचना गरेका हुन्। गीतमा सदीक्षा कट्टेल र समीर खरेलको स्वर रहेको छ भने संगीत बसन्त सापकोटाले दिएका छन्। ‘गज्जब टिभी’ युट्युब च्यानलमार्फत ७ महिनाअघि सार्वजनिक गरिएको यो गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको थियो, जसमा कविता नेपाली र सुनिल क्षेत्री फिचर्ड छन्।
नेपाली गीत प्रयोग गरिएको भिडियो भने सन् १९९७–९८ सिजनको हो, जब इन्टर मिलानले युईएफए कपको उपाधि जितेको थियो। सो समय क्लबका स्टार खेलाडी ब्राजिलियन फुटबलर रोनाल्डो थिए। करिब तीन दशकअघिको दृश्यमा नेपाली गीत मिसिँदा सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।
इन्टर मिलानको आधिकारिक पेजबाटै नेपाली गीत बजेसँगै नेपाली प्रयोगकर्ताहरूले उत्साहजनक प्रतिक्रिया दिएका छन्। कतिपयले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली गीत बजेकोमा गर्व व्यक्त गरेका छन् भने केहीले आश्चर्य र ठट्यौली टिप्पणी गरेका छन्।
नेपाली भाषामा क्याप्सन र नेपाली गीतको प्रयोगपछि उक्त सामग्रीले छोटो समयमै उच्च संलग्नता पाएको छ। गीतमार्फत नेपाल एकपटक फेरि विश्व फुटबल दर्शकमाझ अनपेक्षित रूपमा प्रस्तुत भएको भन्दै यो घटनालाई सांस्कृतिक पहुँचको उदाहरणका रूपमा हेरिएको छ।
