इरानमा ५० वर्षयताकै ठूलो खडेरी परेपछि कृत्रिम वर्षा गराउन सरकारले क्लाउड सिडिङ प्रक्रिया औपचारिक रूपमा शुरू गरेको छ ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार कडा खडेरीसँग जुध्न वर्षा गराउने क्लाउड सिडिङ प्रक्रिया शुरू भएको हो । उर्मिया ताल बेसिनमा पहिलो क्लाउड सिडिङ उडान सम्पन्न गरेको खबरमा उल्लेख छ ।
इरानको उत्तर–पश्चिममा रहेको उर्मिया देशको सबैभन्दा ठूलो ताल हो । तर लामो खडेरीका कारण ठूलो भाग सुकेर विशाल नुनथलोमा परिणत भएको छ ।
क्लाउड सिडिङमा विमानमार्फत बादलहरूमा सिल्भर आयोडाइड, नुन लगायतका सूक्ष्म कणहरू छर्केर वर्षा गराउने प्रयास गरिन्छ । गएको वर्ष इरानले यस प्राविधिक प्रक्रियामा स्वदेशी प्रविधि विकास भएको घोषणा गरेको थियो ।
विश्व मौसम विज्ञान सङ्गठनका विवरण अनुसार इरानमा यस वर्ष दीर्घकालीन औसतको तुलनामा ८९ प्रतिशत कम वर्षा भएको छ । इरानले वर्षौंदेखि लगातार दीर्घ खडेरी, चर्को तापक्रम र गर्मीको लहरको सामना गर्दै आएको छ जसलाई जलवायु परिवर्तनले झनै जटिल बनाइरहेको बताइन्छ ।
राजधानी तेहरानमा वर्षा एक शताब्दीमा सबैभन्दा न्यून स्तरमा झरेको र देशको आधा प्रान्तमा महिनौंदेखि वर्षाको एक थोपा पनि नपरेको इरान सरकारले जनाएको छ । धेरै प्रान्तलाई पानी आपूर्ति गर्ने प्रमुख जलाशयहरूको सतह पनि रेकर्ड न्यूनमा पुगेको छ।
यो महिनाको शुरूमा राष्ट्रपति मसुद पेजेस्कियानले पानी नपरेमा तेहरानले जाडोअघि नै पानीको चरम अभाव झेल्ने चेतावनी दिएका थिए ।