सुचना, समाचार र मनोरन्जन

इरान–अमेरिका आणविक वार्ताः विवादका मुख्य बुँदाहरू

 

काठमाडौं : लामो समयदेखि प्रतिद्वन्द्वीका रूपमा रहेका इरान र संयुक्त राज्य अमेरिकाबीच ओमानको मध्यस्थतामा शुक्रबार रोममा पाँचौं चरणको आणविक वार्ता सम्पन्न भएको छ। दुवै पक्षले बैठकलाई रचनात्मक भन्दै छलफललाई निरन्तरता दिने इच्छा व्यक्त गरे पनि केही मुख्य बुँदाहरूका कारण अपेक्षाकृत प्रगति हुन सकेको छैन।

 

१. युरेनियम संवद्र्धन:

वार्तामा इरानको युरेनियम संवद्र्धन कार्यक्रम मुख्य छलफलको विषय बनेको छ। संयुक्त राज्य अमेरिका र पश्चिमा देशहरूले इरानले आणविक हतियार बनाउन खोजेको आशङ्का गरेका छन्, तर इरानले त्यस्तो महत्वाकाङ्क्षालाई अस्वीकार गर्दै आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र भएको दाबी गरेको छ।

 

अमेरिकी अधिकारीहरू, जसमा वासिङ्टनको प्रतिनिधिमण्डलको नेतृत्व गरेका मध्यपूर्वका राजदूत स्टिभ विटकोफ पनि समावेश छन्, ले इरानको युरेनियम संवद्र्धन कार्यक्रमविरुद्ध आवाज उठाएका छन्। वार्ताअघि विटकोफले वासिङ्टनले इरानका लागि युरेनियम सङ्कलनमा एक प्रतिशत पनि क्षमता बढाउन नसक्ने बताएका थिए।

 

यद्यपि, तेहरानले आफ्नो संवद्र्धनलाई ‘गैर-सम्झौतायोग्य’ भनेको छ र यस्तो मागले सम्झौतालाई रोक्न सक्ने तर्क गरेको छ। इरानका शीर्ष वार्ताकार र विदेशमन्त्री अब्बास अराघचीले ‘एक्स’ मार्फत सन्देश दिँदै, “शून्य आणविक हतियारका लागि हामीसँग सम्झौताको विकल्प छ। शून्य संवद्र्धन सम्झौताको शर्त हुनेछैन,” भनी उल्लेख गरेका छन्।

विज्ञहरूका अनुसार पाँचौं चरणको वार्तामा सम्झौताको लागि सीमा के हुने भन्ने विषयमा टकराव देखिएको छ। सेन्टर फर इन्टरनेसनल पोलिसीकी सिना तुसीले एएफपीसँग भनिन्, “यो चरण निकै संवेदनशील थियो, युरेनियम संवद्र्धनको विषयलाई लिएर अमिल्दो देखिने सार्वजनिक युरेनियम संवद्र्धन सीमाको टकराव देखियो।”

सन् २०१५ मा पश्चिमा शक्तिराष्ट्रसँग भएको सम्झौताअनुसार ३.६७ प्रतिशतको सीमाभन्दा धेरै माथि ६० प्रतिशतसम्म युरेनियम संवद्र्धन गर्ने इरान एक मात्र गैरआणविक राष्ट्र हो। सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालका क्रममा सन् २०१५ मा भएको यो सम्झौता एकतर्फी रूपमा त्यागेपछि यो अवस्था आएको हो।

 

२. ‘विरोधाभासी स्थिति’ र क्षेप्यास्त्र कार्यक्रम:

गत अप्रिल १२ मा ओमानमा भएको पहिलो चरणको वार्तापछि इरानले आफ्नो आणविक कार्यक्रम र अमेरिकी प्रतिबन्ध हटाउने विषयमा ध्यान केन्द्रित गर्न चाहेको छ। तेहरानले वासिङ्टनको ‘तर्कहीन’ माग र अमेरिकी अधिकारीहरूको ‘असङ्गत सङ्केत’को आलोचना गर्दै आएको छ। अराघचीले यस्ता ‘विरोधाभासी अडानहरू’ जारी रहेमा यसले वार्तालाई जटिल बनाउने बताएका छन्।

 

वार्ता सुरु हुनुअघि केही विश्लेषकहरूले अमेरिकाले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई समेत सम्बोधन गर्ने गरी व्यापक सम्झौता गर्न सक्ने बताएका थिए। उनीहरूको विश्वास छ कि वार्ताले तेहरानको ‘प्रतिरोधको धुरी’ (लेबनानमा हिजबुल्लाह, गाजामा हमास र यमनको हुथी विद्रोहीहरू सम्मिलित इजरायल विरोधी सशस्त्र समूहहरूको सञ्जाल) लाई समर्थन गर्न सक्नेछ।

अप्रिल २७ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले वासिङ्टनलाई इरानको युरेनियम संवद्र्धन मात्र नभई कुनै पनि सम्भावित सम्झौताअन्तर्गत उसको क्षेप्यास्त्र विकासलाई पनि रोक्न आग्रह गरेका थिए। इरानले आफ्नो सार्वभौम अधिकार र प्रतिरक्षा आवश्यकताको हवाला दिँदै वार्तामा छलफल भइरहेका गैरआणविक मुद्दाहरूको विरोध गर्दै आएको छ।

 

३. प्रतिबन्धको निरन्तरता:

कूटनीतिक छलफल चलिरहँदा पनि अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ। तेहरानले वासिङ्टनको ‘शत्रुतापूर्ण दृष्टिकोण’को भत्र्सना गर्दै वार्ता हुनुभन्दा ठीक अघि नै नयाँ प्रतिबन्ध लगाइएको उल्लेख गरेको छ। बुधबार वासिङ्टनले इरानको आणविक, सैन्य वा क्षेप्यास्त्र गतिविधिमा सम्भावित सम्बन्ध रहेको भन्दै इरानको निर्माण क्षेत्रमाथि प्रतिबन्ध लगाएको थियो।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले ‘एक्स’ मा लेख्दै, “यी प्रतिबन्धहरूले कूटनीतिका लागि अमेरिकी इच्छा र गम्भीरतामाथि थप प्रश्न उठाएको छ,” भनेका छन्। अप्रिलको अन्त्यतिर तेस्रो चरणको वार्ताअघि वासिङ्टनले इरानको तेल र ग्यास क्षेत्रमाथि पनि प्रतिबन्ध लगाएको थियो।

 

४. सैन्य विकल्पको चेतावनी:

सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि ट्रम्पले गत मार्चमा इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनीलाई पत्र लेखेका र त्यसपछि इरान र अमेरिकाबीच उच्चस्तरीय वार्ता शुरू भएको हो। ट्रम्पले तेहरानलाई कूटनीतिक रूपमा सम्झौता गर्न आग्रह गरे पनि वार्ता असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी समेत दिएका छन्।

 

इरानले पनि आफ्नै चेतावनी जारी गरेको छ। शुक्रबार इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बागेरीले चेतावनी दिएका थिए, “यस क्षेत्रमा अमेरिकी कुनै पनि गलत कदम भियतनाम र अफगानिस्तानजस्तै अन्त्य हुनेछ।”

सीएनएनले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै मंगलबार इजरायलले इरानी आणविक स्थलमा आक्रमण गर्ने तयारी गरिरहेको समाचार प्रकाशित गरेपछि ट्रम्पको यो टिप्पणी आएको हो। अराघचीले बिहीबार संयुक्त राष्ट्रसङ्घलाई लेखेको पत्रमा भनेका छन्, “हामीलाई विश्वास छ, इस्लामिक गणतन्त्र इरानको आणविक सुविधाहरूमा यहूदी शासनद्वारा कुनै पनि आक्रमण भएमा यसमा अमेरिकी सरकार पनि संलग्न हुनेछ र कानुनी जिम्मेवारी वहन गर्नेछ।”

 

अमेरिकी अनलाइन पत्रिका एक्जिओसका अनुसार विटकोफले शुक्रबारको रोम वार्ताको केही समयअघि इजरायली अधिकारीहरूसँग भेट गरेका थिए। अति परम्परावादी इरानी दैनिक काइहानले शनिबार लेखेको छ, “ट्रम्प र नेतन्याहूबीचको समन्वयले वार्तालाई गतिरोधतर्फ डोर्‍याइरहेको छ।”

Leave A Reply

Your email address will not be published.