सुचना, समाचार र मनोरन्जन

‘मिस्टर एण्ड मिस इस्टपोल – २०८२’ को ट्यालेन्ट राउन्ड सम्पन्न, ५३ विद्यार्थीको प्रस्तुति

काठमाडौं :

 सीएस इन्टरटेनमेन्ट नेपालद्वारा आयोजित ‘मिस्टर एण्ड मिस इस्टपोल – २०८२, सिजन १’ अन्तर्गतको ट्यालेन्ट राउन्ड शनिबार जोरपाटीस्थित इस्टपोल स्कूलको सभाहलमा सम्पन्न भएको छ।

प्रतियोगितामा ५३ जना विद्यार्थीले गीत, नृत्य, अभिनय, वाद्य वादन तथा वक्तृत्व लगायतका विभिन्न प्रस्तुति दिएका थिए। आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीद्वारा देखाइएको प्रतिभा र सिर्जनशीलता मार्फत दर्शकहरूलाई प्रभावशाली र प्रेरणादायी सन्देश प्रवाह गरेको थियो।

कार्यक्रममा विद्यार्थीहरूका अभिभावकहरूको उल्लेखनीय सहभागिता रहँदा प्रतिस्पर्धाको माहोल थप उत्साहपूर्ण बनेको थियो। अभिभावकहरूको उपस्थिति र सहयोगले विद्यार्थीहरूको आत्मविश्वासमा सकारात्मक प्रभाव परेको आयोजकले बताएका छन्।

निर्णायक मण्डलमा उपन्यासकार भीष्मराज फुलारा, पहिलो महिला पहलवान तथा कलाकार भगवती खड्का, र कोरियोग्राफर नविन गुरुङ रहेका थिए। उनीहरूले प्रतिभा, आत्मविश्वास, अनुशासन र सिर्जनशीलताको महत्वमाथि प्रकाश पारे।

कार्यक्रमको संयोजन ‘डान्सिङ विथ द स्टार्स’ सिजन २ की विजेता तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर छिरिङ शेर्पाले गरेकी थिइन्। उनले प्रतिभा जीवनको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गर्न आह्वान गरिन्। आयोजक सीएस इन्टरटेनमेन्ट नेपालले यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.