सिनेमाको निर्माण टिमले मंगलबार २ पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ६ गते भाइटीकालाई प्रदर्शन मिति घोषणा गरिएको छ। कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाको आज सार्वजनिक भएका दुई पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ। यी दुवैलाई पोस्टरमा परम्परागत लिम्बु पहिरनमा खुशी मुद्रामा देख्न सकिन्छ।
दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ। सार्वजनिक भएका यी दुवै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटोको सेरोफेरोमा सिनेमाले कथा पस्कने बुझ्न सकिन्छ। सिनेमाका यी पोस्टरले एउटा अद्भुत कथा पर्दामा पस्किने सहज अनुमान गर्न सकिन्छ।
कवि सुब्बाको डेव्यु निर्देशकिय सिनेमा ‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो। सो वर्ष सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ।