काठमाडौं :
जेन-जी आन्दोलन र सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धका कारण रोकिएका धेरै गीतहरू अहिले एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्।
फिल्म बलिदानको शीर्ष गीत मंगलबार युट्युबमार्फत सार्वजनिक भयो। यो गीत आन्दोलनका कारण थन्काइएको थियो। गायिका तृष्णा गुरुङले रोकेको गीत लै बरी लै बरी आउँदो शुक्रबार रिलिज हुने भएको छ। त्यस्तै, खेम सेन्चुरी र सुनिता बुढाको गास कहाँ होला मंगलबार युट्युबमा आएको छ। शान्तिश्री परियार र समीक्षा अधिकारीले पनि रोकिएका आफ्ना गीत छिट्टै ल्याउने तयारी गरेका छन्।
दशैं नजिकिँदै गर्दा सामान्यतया स्टुडियोहरूमा दशैं विशेष गीत तयार पार्न भ्याइनभ्याइ हुने गर्थ्यो। तर यसपटक परिस्थितिले गर्दा त्यस्तो चहलपहल छैन। अहिले स्टुडियोहरूले मुख्यतया आन्दोलनका कारण रोकिएका गीत र भिडियो पूरा गर्ने कामलाई प्राथमिकता दिइरहेका छन्।
गायक हेमन्त शर्माले यस वर्ष नयाँ दशैं गीत नल्याउने निर्णय गरिसकेका छन्। तर आन्दोलनअघि तयार पारेको एउटा भिडियो गीत भने उनले छिट्टै सार्वजनिक गर्ने तयारीमा छन्।