काठमाडौं :
आगामी बडादसैंको फुलपातीबाट नेपालभरका हलमा प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिका हलमा पनि लाग्ने भएको छ। यो फिल्म अमेरिकाको ८० वटा हलका पर्दामा रिलिज हुने भएको हो।
अमेरिकामा रहेका फिल्म वितरक आहान पौडेल अमेरिकामा आफुले ८० हलबाट रिलिज गर्न लागेको जानकारी दिएका हुन्। उनी वितरक उज्वल पौडेलका छोरा हुन्। वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० पर्दामा फिल्म रिलिज गर्न लागेको जनाइएको छ ।
वितरकका अनुसार यो फिल्म अमेरिकाको टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका सहर तथा राज्यमा प्रदर्शन हुनेछ।
दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य,स्वस्तिमा खड्का,प्रकाश सपुत,प्रियंका कार्की लगायतको अभिनय रहेको छ। यस फिल्मलाई हरिवंश आचार्यकै छोरा मोहितवंश आचार्यले लगानी गरेका हुन् भने उनलाई गायक सरोज ओलीले साथ दिएका छन्। यो फिल्मसँगै फुलपातीमा ‘माइतीघर’,‘बलिदान’ र ‘अभिमन्यु’पनि प्रदर्शनमा आउदैछन्। त्यस कारण यो वर्षको दसैं निकै रोचक हुनेवाला छ।