सुचना, समाचार र मनोरन्जन

कृषाको ‘जहाजैमा’ उड्दैछ प्रेमको जहाज, जापानी नायिकासँग नेपाली दिलको संगम

काठमाडौं :

निर्देशक कृषा चौलागाईको निर्देशनमा बन्ने फिल्म ‘जहाजैमा’मा जापानिज अभिनेत्री फाइनल भएकी छन्। जापानमा भएको एक अवार्डमा जाँदा निर्देशक कृषाले जापानिज अभिनेत्री रजेल इचिमियासँग फिल्मका लागि सम्झौताले गरेकी थिइन्। त्यो समयमा कुन अभिनेत्रीसँग सम्झौता गरेकी हुन् भन्ने कुरामा खुलाइएको थिएन। बिहिबार भने उनले सामाजिक सञ्जालमार्फत आफुहरुले काम गर्न लागेको पक्का गरेकी छन्।

कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्वीर शेयर गरेपनि उनको विषयमा केही पनि उल्लेख गरेकी थिइनन्। उनले जापानिज अभिनेत्रीसँग फिल्ममा सम्झौता गरेसँगै चर्चाको विषय भने खुबै बनेको थियो। हाल प्रि–प्रोडक्सनको काम भइरहेको यो फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्ने छन्। एक जना कलाकारको नाम सार्वजनिक भएता पनि अन्य कलाकारको टुङ्गो लाग्न सकेको छैन। यतिबेला कुन कुन कलाकार यो फिल्ममा रहने हुन् भन्नेमा निर्माण पक्षले गोप्य नै राखेको छ। यसअघिको फिल्म ‘पिताम्बर’मा रहेका प्रदीप खड्का हुने नहुने बारेमा पनि अन्योलता छ।

निर्माण टिमले बिहिबारै पोष्टर समेत सार्वजनिक गरेको छ। जापानिज अभिनेत्री राखेर फिल्मको पोस्टर रिलिज गरेको हो। जसमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालीनता र सुन्दरता छल्किएको देख्न सकिन्छ।

यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुराँगाइले निर्माण गर्न लागेको यो फिल्ममा नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथालाई भन्ने छ। अर्को वर्ष प्रदर्शन गर्ने भनिएको यो फिल्मको छायांकन भदौबाट हुने बताइएको छ। यो फिल्मको निर्माणले नेपाली फिल्मलाई अन्तरराष्ट्रियस्तरमा समेत लैजान सक्ने सम्भावना देखिन्छ।

Leave A Reply

Your email address will not be published.