काठमाडौं :
आगामी साउन २३ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘मोहर’ ले आफ्नो पहिलो गीत ‘चाहिँदैन मोहर, पर्दैन सुकी’ सार्वजनिक भएको छ। गीत सार्वजनिक भएसँगै नेपाली फिल्म क्षेत्रमा नयाँ कौतूहल थपेको छ।
शरद हुमागाँई र विशाखा शाहीको आवाजमा सजिएको यो गीत केवल प्रेमको अभिव्यक्ति मात्र होइन,फिल्मको आत्मा झल्काउने प्रयास जस्तो देखिन्छ। यस गीतमा अभिनेता पल शाह र अभिनेत्री नीति शाहबीचको सम्बन्ध र भावना झल्काइएको छ। जुन गीतको भिडियोमार्फत नृत्य निर्देशक राजमी लामिछानेले प्रष्ट पारेका छन्। नृत्य निर्देशन (कोरियोग्राफी) लामिछानेले यस गीतको भिडियोमार्फत प्रेमको अन्तरकथा सजीव बनाएका छन्।
गीतकार प्रमोद ढुंगाना र संगीतकार सुरेश अधिकारीको सहकार्यले गीतलाई भावनात्मक गहिराइ दिएको छ। फिल्मका लेखक निर्देशक प्रतिक नै रहेका छन्। उनले ‘मोहर’लाई केवल एउटा प्रेमकथा नभई समाजमा अझै विद्यमान रहेको देउकी प्रथा जस्ता गम्भीर सामाजिक समस्यालाई उजागर गर्ने माध्यम बनाएका छन्। यो दृष्टिकोणले फिल्मलाई केवल मनोरञ्जन होइन, सामाजिक चेतना फैलाउने माध्यम बनाउने प्रयास गरेका छन्।
प्रविधिको दृष्टिकोणले पनि फिल्ममा अत्यन्त मिहिनेत गरिएको देखिन्छ—दृश्य विशेष प्रभाव (भीएफएक्स) समिर मिया, कम्प्युटर ग्राफिक्स (सीजीआई) सत्यम राना, र दृश्य निर्माण डिजाइन लक्ष्मण पौडेलले सम्हालेका छन्। यसले फिल्मलाई गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।
फिल्ममा पल शाह, नीति शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। नवकलाकार र अनुभवी कलाकारहरूको मिश्रणले कथालाई जीवन्त बनाउन मद्दत गर्नेछ।
गीत विमोचन कार्यक्रममा अभिनेता पल शाहले यो गीत छायांकन गर्दा निकै चुनौतीपूर्ण अनुभव भएको र आफूले पहिलो पटक यस्तो गीतको भिडियोलाई देख्दा ‘म सक्दिनँ है’ भन्ने अनुभव रहेको बताए। अभिनेत्री नीति शाहले पनि सबैको मिहिनेत दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्। फिल्म ‘मोहर’मा केवल एउटा नयाँ नेपाली फिल्म मात्र नभएर सांस्कृतिक बहसको विषय बनाएका छ। संगीत, कथावस्तु, दृश्य प्रभाव र सामाजिक सन्देशले नेपाली फिल्म अब मौन बस्दैन,बरु समाजसँग संवाद गर्न खोज्छ भन्ने संकेत दिएको छ।