काठमाडौँ/
छिमेकी भारतको जम्मू–काश्मीर पहलगाममा भएको आतङ्कवादी आक्रमणको नेपाल सरकारले निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको हो । साथै मृतकका परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र एवम् पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ । विज्ञप्तिमा ‘दुःखको यो घडीमा नेपाल सरकार भारत र त्यहाँका नागरिकसँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ’ भनिएको छ ।
त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्रीलगायतले पनि छुट्टाछुट्टै वक्तव्यमार्फत् आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । राष्ट्रपति पौडेलले निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको हिंसात्मक कार्य पूर्णतया निन्दनीय रहेको उल्लेख गरेका छन ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रमणको निन्दा गर्दै आतङ्कवादविरुद्ध नेपाल भारतको साथमा रहेको जनाएका छन । उनले यो घटनामा एक नेपाली नागरिकले ज्यान गुमाएको सार्वजनिक रिपोर्टलाई पुष्टि गर्ने प्रयास भइरहेको बताएका छन ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विवेकहीन हिंसा भन्दै कडा शब्दमा निन्दा गरेकी छिन। साथै घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास भइरहेको र त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने जानकारी दिएका छन ।
भारतीय सञ्चारमाध्यमका अनुसार हिजो दिउँसो भएको आक्रमणमा परी एक जना नेपालीसहित कम्तीमा २६ जनाको ज्यान गएको छ । केही नागरिक घाइते भएका छन् । ज्यान गुमाउने र घाइते भएकाहरुको सङ्ख्याबारे फरक–फरक विवरण आइरहेका छन् ।
जम्मू–कश्मीरमा पर्ने पहलगामको बैसारन ठाउँलाई ‘मिनी स्विटजरल्याण्ड’ मानिन्छ । हिजोको आक्रमणपछि साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण छोट्याएर स्वदेश फर्किएका छन ।