सुचना, समाचार र मनोरन्जन

‘जनै हराएको मान्छे’ले प्रेमका धागाहरू बुन्दै ‘मसुरीको दाना’ ल्यायो

काठमाडौं :

नेपाली चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक गरिएको छ। अञ्जु पन्त र एसडी योगीको स्वर रहेको उक्त गीतमा हर्क साउदको शब्द र एसडी योगीको संगीत रहेको छ।

प्रेममा रहेका जोडीहरूबीचको भावनात्मक सम्बन्ध चित्रण गर्ने गीतमा प्रेम, चाहना र आत्मसम्मानको विषय समेटिएको छ। गीतमा प्रेमिकाले आफू प्रेमका लागि योग्य रहेको कुरा व्यक्त गरेकी छन्, र प्रेमीको नजरले आफूलाई हर्षित बनाउने प्रसंग उल्लेख छ।

गीतको भिडियोमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी लगायत चलचित्रका मुख्य कलाकारहरू देख्न सकिन्छ। भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ भने ठूलो संख्यामा कोरस कलाकार पनि फिचर गरिएको छ। विजय बरालको नृत्य प्रयास र समर्पणले भिडियो आकर्षक बनेको निर्माण पक्षको भनाइ छ।

चलचित्रको निर्देशन हिमाल न्यौपानेले गरेका छन्। फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायत कलाकारको अभिनय रहेको छ। भानुभक्त ढकालले कथा, पटकथा र संवाद लेखेको चलचित्र पेपरक्लिप ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन्। मनिष राउत सह-निर्देशकको रूपमा रहेका छन्।

चलचित्रमा नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन कार्यकारी निर्माता छन्। शाहिल खानको टिजर-ट्रेलर सम्पादन, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर, चुल्ठे काजीको एक्सन निर्देशन तथा लक्ष्मणराज पौडेल निर्माण नियन्त्रकका रूपमा संलग्न छन्।

चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले लिएको छ। सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’पछि विजय बरालको प्रमुख भूमिकामा आएको यो चलचित्रलाई यस वर्षको बहुप्रतिक्षित फिल्मका रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.