मुम्बई :
बलिउडको नयाँ चलचित्र ‘सैयारा’ को शीर्षक गीत ‘सैयारा तु तो बदला नही है’ ले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गरेको छ। विश्वप्रसिद्ध संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईको ग्लोबल टप ५० सूचीमा सातौँ स्थानमा पुग्दै, उक्त गीत टप १० मा स्थान बनाउने पहिलो बलिउड गीत बनेको हो।
यस फिल्ममा नयाँ कलाकार आहान पाण्डे र अनित पड्डा मुख्य भूमिकामा रहेका छन्। उनीहरुको यो फिल्मले नै चर्चामा ल्याएको हो। भारतिय मिडियाका अनुसार रोमान्टिक कथावस्तुमा आधारित चलचित्रले गीतमार्फत विश्वव्यापी लोकप्रियता कमाएको हो। सार्वजनिक भएको केही दिनमै गीतले करोडौं स्ट्रीम बटुल्न सफल भएको छ।
यस गीतको संगीत संयोजन, शब्द चयन र दृश्य प्रस्तुति अत्यन्त आकर्षक रहेको चलचित्र समीक्षकहरूको भनाइ छ। दर्शकहरूले गीतको भावनात्मक गहिराइ र नयाँ कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन्।

चलचित्र ‘सैयारा’ले प्रदर्शनको पहिलो नौ दिनमै भारतीय बक्स अफिसबाट भारु २०० करोड रुपैयाँको आम्दानी गरेको छ। यो नयाँ अनुहारहरूसँग बनेको चलचित्रका लागि उल्लेखनीय व्यापारिक सफलता मानिन्छ।
फिल्मलाई बलिउडभित्र मात्रै नभई अन्तर्राष्ट्रिय बजारमा पनि सकारात्मक प्रतिक्रिया मिलिरहेको निर्माण टिमले जनाएको छ। चलचित्र समीक्षकहरूका अनुसार ‘सैयारा’ले बलिउड संगीतको विश्वव्यापी पहुँच र सम्भावनालाई थप मजबुत बनाएको छ।
यससँगै, बलिउड संगीतले अन्तर्राष्ट्रिय चार्टमा नयाँ इतिहास बनाएको छ, जसले आगामी दिनमा भारतीय फिल्म र संगीत उद्योगलाई विश्वस्तरीय प्रतिस्पर्धामा उभ्याउने विश्वास गरिएको छ। यो फिल्मलाई यतिबेला बलिउडका चर्चित कलाकार तथा फिल्ममेकरहरु समेत बधाई दिइरहेका छन्।