मुम्बई :
अभिनेता अहान पाण्डे बलिउडको नयाँ पुस्ताका उदीयमान कलाकारका रूपमा उदाएका छन्। मोहित सुरीको निर्देशनमा बनेको ‘सायारा’ फिल्ममार्फत उनले फिल्म क्षेत्रमा डेब्यू गरेका हुन्। समीक्षक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको यस फिल्मले अहानको अभिनय क्षमतालाई उजागर गरेको छ।
अहानले आफ्नो अडिसनमा रणबीर कपूरको ‘ए दिल है मुश्किल’ र शाहिद कपूरको ‘कबीर सिंह’ फिलमका दृश्य प्रस्तुत गरेर निर्देशक मोहित सुरिलाई प्रभावित गरेका थिए। टाइम्स अफ इण्डियाका अनुसार, यही प्रस्तुतीले उनलाई ‘सायारा’ मा मुख्य भूमिकाको अवसर दिलाएको हो।
फिल्मको विशेष स्क्रिनिङपछि अहानकी कजिन तथा अभिनेत्री अनन्या पाण्डे भावुक बनेकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन्,‘सायारा हेर्दा म रुन बाध्य भएँ, तिमी जादू हौ, भाइ।’ यता अर्को भारतिय मिडिया नवभारत टाइम्स अनुसार अनन्याले फिल्मको भावनात्मक प्रभावको चर्चा गरेकी हुन्।
अहानकी आमा डिएन पाण्डेले पनि फिल्मको सफलतापछि सामाजिक सञ्जालमार्फत छोराको बाल्यकाल र संघर्षको प्रसंग उल्लेख गरेकी छन्। उनले अहान जन्मेका बेला ‘चूहा जस्तो सानो भएको उल्लेख गरेकी थिइन्।
करण जोहर जस्ता बलिउड निर्देशकहरूले पनि अहानको अभिनयको प्रशंसा गरेका छन्। “म उनको प्रशंसाले शेल(शक्ड भएँ,” अहानले प्रतिक्रिया दिएका छन्। अहानले आफ्नो आगामी फिल्महरूमा अझ चुनौतीपूर्ण भूमिका निर्वाह गर्ने इच्छा व्यक्त गरेका छन्।