पोखरा,
पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल नियुक्त भएका छन् ।
नवनियुक्त क्याम्पस प्रमुख बराललाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले आइतबार पद तथा गोपनियताको शपथ गराएका छन् । अध्यक्ष विजुक्छेले विद्यमान चुनौतीलाई पार लगाई क्याम्पसको वृहत्तर विकास र शैक्षिक गुणस्तर सुधारका लागि काम गर्न सुझाउँदै क्याम्पसको प्रशासनिक र प्राज्ञिक उन्नयनमा लाग्न शुभकामना दिए ।
नवनियुक्त क्याम्पस प्रमुख कृष्णबाबु बरालले पदभार ग्रहण गर्दै स्वायत्त कार्यक्रमअन्तर्गत नयाँ शैक्षिक कार्यक्रम थप गर्ने र मानित विश्वविद्यालय बनाउने लक्ष्य आफूले लिएको बताए ।
नवनियुक्त क्याम्पस प्रमुख बराल २ कार्यकाल बिबिए संयोजक र २ कार्यकाल सहायक क्याम्पस प्रमुख भएका थिए भने यसअघि निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी समेत निभाएका थिए । व्यवस्थापन विषय प्राध्यापन गर्दै आएका बराल पोखराकै बासिन्दा हुन् । बरालले २०६५ सालदेखि जनप्रियमा पढाउँदै आएका छन् । उनी जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी हुन् ।
क्याम्पस सञ्चालक समितिको कार्तिक २६ गतेको बैठकको निर्णय र क्याम्पस सञ्चालन सम्बन्धी नियमावली २०५४ को सातौँ संशोधन २०७६ को नियम १० अनुसार बराललाई ४ वर्षका लागि क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट २ पटक गुणस्तर मान्यता प्राप्त गरेको छ । शिक्षा मन्त्रालयबाट २ पटक मुलुककै उत्कृष्ट सामुदायिक क्याम्पसका रूपमा पुरस्कृत भएको छ । गण्डकी प्रदेश सरकारबाट प्रदेशकै सर्वोकृष्ट क्याम्पसका रूपमा पुरस्कृत भएको छ । क्याम्पसले स्वायत्त कार्यक्रमअन्तर्गत एमबिए इन हस्पिट्यालिटी म्यानेजमेन्ट र स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । क्याम्पसमा ४ हजार बढी विद्यार्थी अध्ययनरत छन् भने १ सय ५० प्राध्यापक र ३८ जना कर्मचारी कार्यरत छन् ।