काठमाडौं :
आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को नयाँ गीत ‘उडी जाउँ भने, म पन्छी होइन’ सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँको अभिनय देख्न सकिन्छ। भिडियोमा आफू बसेको स्थानभन्दा मन परेको ठाउँमा पुग्न चाहने भावनालाई सुहानाले अभिव्यक्त गरेकी छन्। गीतमा उनको अभिनयलाई दर्शकले रुचाउने निर्माण टिमको विश्वास छ। रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको भिडियो आकर्षक देखिएको छ।
गीतमा नेपाली संगीतका पहिलो कम्पोजर तथा एरेन्जर मानिने शान्ति ठटालको संगीत रहेको छ भने स्वर निशु शर्माले दिएकी छन्। गीतका शब्द मनबहादुर मुखियाले लेखेका हुन्। यो गीत मूलतः गायिका अरुणा लामाले चार दशकअघि गाएकी लोकप्रिय गीत हो। निर्माण टिमले उक्त गीतलाई पुनः प्रस्तुत गर्दै अरुणा लामालाई समर्पण गरेको जनाएको छ। गीतको नयाँ एरेन्ज बिनोद भुजेलले गरेका छन्।
साहित्यकार गुरु प्रसाद मैनालीको प्रसिद्ध कृति ‘परालको आगो’बाट प्रेरित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मञ्जिला बानियाँलगायत कलाकारको अभिनय रहेको छ।
हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ। सुशील देवकोटाले पटकथा तथा संवाद लेखेको फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका हुन्।
फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन र कनाल कँवरको रंग संयोजन रहेको छ। भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्। पाश्र्व संगीत किरण तुलाधरले दिएका छन्।
फिल्मको वितरण नेपालभर आरआर फिल्मसले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। गुरु प्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथामा यसअघि करिब ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए।