सुचना, समाचार र मनोरन्जन

जापानको हाकोनेमा नेपाली भलिबल प्रतियोगिता हुँदै, एकता र भाइचाराको सन्देश

पोखरा,
जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल कल्याण समाज जापानको आयोजनामा आगामी जुन १६ तारिख जापानको रमणीय पर्यटकीय क्षेत्र हाकोनेमा भव्य पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

आयोजक समितिका अध्यक्ष विष्णु शर्माका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलमार्फत नेपाली युवाहरूलाई एकताबद्ध गर्नुका साथै जापानमा रहेका नेपाली समुदायबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउनु र भाइचाराको भावनालाई थप मजबुत बनाउनु रहेको छ।

कार्यक्रम संयोजक मनोज केसीले प्रतियोगितालाई भव्य, सभ्य तथा ऐतिहासिक बनाउने तयारी तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिँदै जापानभर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई खेलाडीहरूको उत्साहवर्धन गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार प्रतियोगितामा जापानका विभिन्न क्षेत्रबाट सहभागी हुने नेपाली टोलीहरूको उल्लेखनीय सहभागिता रहनेछ।

उहाँले यो प्रतियोगिता केवल खेलकुदमा सीमित नभई जापानमा रहेका नेपाली समुदायबीचको एकता, भाइचारा, सामाजिक सद्भाव र पारस्परिक सहयोगको भावनालाई अझ प्रगाढ बनाउने साझा अभियानसमेत भएको बताउनुभयो।

प्रतियोगितामा विजेता टोलीलाई नगद ३ लाख ११ हजार १ सय ११ येन तथा उपविजेता टोलीलाई नगद २ लाख ११ हजार १ सय ११ येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, बेस्ट डिफेन्डर, बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा बेस्ट कोचलाई समेत नगद पुरस्कार र ट्रफीद्वारा सम्मान गरिने आयोजकले जनाएको छ।

नेपाल कल्याण समाज जापानका संस्थापक अध्यक्ष केशव सुबेदी, संस्थापक संरक्षक जोयबहादुर खड्का तथा संस्थापक महासचिव एवं निवर्तमान अध्यक्ष सुवर्ण भट्टलगायत संस्थाका अग्रज व्यक्तित्वहरूले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यस कार्यक्रमले जापानस्थित नेपाली समुदायबीचको एकता र भाइचारालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.