पोखरा :
विदेशमा नेपाली चलचित्र प्रदर्शन र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचारले नेपालमा प्रदर्शन भइरहेको चलचित्र जेरी अन टपको क्यानडा वितरणको अधिकार पाएको छ । प्रचार नेपाल प्रालिका संचालक आशिष पुरी र चलचित्रका निर्माता विवेक थापाले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
दर्शकको मागबमोजिम क्यानडामा उक्त चलचित्रको वितरण अधिकार किनिएको प्रचारका संचालक पुरीले बताए । उनले क्यानडामा बुकिङ खुला भइसकेको जानकारी दिए ।
प्रचारले यसअघि क्यानडामा पूर्णबहादुरको सारंगी, तेल भिसा, छक्का पञ्जा ५ र ह्रस्व दीर्घ जस्ता चलचित्रहरु प्रदर्शन गरिसकेको छ । विभिन्न म्यूजिकल इभेन्ट पनि गर्दै आएको छ । प्रचारका साजनजंग पाण्डेले नोभेम्बर १ बाट क्यानडाका मुख्यमुख्य शहरमा ‘जेरी अन टप’ चलचित्र प्रदर्शन हुने बताए । उनले चलचित्रका लागि टिकट खुला भइसकेको उल्लेख गरे।
अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत चलचित्र ‘जेरी अन टप’ असोज ३१ गतेदेखि नेपाली हलहरु चलिरहेको छ । दोस्रो सातामा पनि चलचित्रको हाउस फुल भइरहेको निर्माता थापाले बताए । चलचित्रले हालसम्म ६ करोड बढी आम्दानी गरिसकेको चलचित्रको प्रस्तुतकर्ता सरोज न्यौपाने जानकारी दिए। ७५ हजार दर्शकले चलचित्र हेरिसकेको उनको भनाइ छ। यो चलचित्र अमेरिका,अष्टे«लिया, माल्टामा पनि प्रदर्शन भइरहेको निर्माता थापाले उल्लेख गरे।
सुयोग गुरूङको निर्देशनमा बनेको यो चलचित्रमा सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथालाई मुख्य विषय बनाइएको छ । भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तसहितका कलाकारहरूको अभिनय पनि यस चलचित्रमा देख्न सकिन्छ ।