काठमाडौँ :
गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ ले रिलिजको नवौं दिनमै १ करोड माथिको ग्रस कलेक्सन गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। पहिलो दिनदेखि नै हाउसफूल शो गर्दै अगाडि बढेको फिल्मले लगातार आक्रामक व्यवसाय कायम राख्दै नेपाली बक्सअफिसमा नयाँ इतिहास बनाएको हो।
निर्माता सरोज न्यौपानेका अनुसार, चलचित्रले शनिबार मात्र १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँ ३३ पैसा कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डको रियल टाइम बक्सअफिस रिपोर्ट अनुसार, रिलिजको नवौं दिनमै एकै दिन करोडको माइलस्टोन पार गर्ने यो वर्षकै पहिलो नेपाली चलचित्र बनेको छ।
फिल्मले दोस्रो सातामा पनि आक्रामक बिजनेसलाई निरन्तरता दिँदै आइतबार (अफ डे मानिने दिन) समेत हाउसफूल शो कायम गरेको छ। अग्रिम अनलाइन बुकिङ अत्यधिक रहेको र देशभरका अधिकांश हलहरूमा दर्शकको भीड देखिएको बताइएको छ। राजधानीका साथ–साथै मोफसलका प्रमुख शहरदेखि ग्रामीण क्षेत्रमा समेत फिल्मप्रति दर्शकको आकर्षण उच्च देखिएको छ।
दर्शक र समीक्षक दुबैबाट फिल्मको अभिनय, निर्देशन, छायांकन, सम्पादन र व्याकग्राउन्ड स्कोरको प्रशंसा गरिएको छ। विशेषगरी अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङबीचको त्रिकोणात्मक प्रेमकथाको केमिस्ट्री दर्शकले मन पराएका छन्। साथै, भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्तको अभिनयले पनि सकारात्मक प्रतिक्रिया पाएको छ।
सुयोग गुरुङको निर्देशनमा बनेको यस फिल्मको छायांकन दुलिप रेग्मीले गरेका हुन् भने फिल्मलाई अनन्या फिल्म्सले निर्माण गरेको हो। पहिलो सातामै ५ करोडमाथिको कलेक्सन गरेको ‘जेरी अन टप’ अहिले यो वर्षकै सर्वाधिक कलेक्सन गर्ने नेपाली फिल्मको रूपमा अगाडि उभिएको छ।