काठमाडौं :
अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन्। संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने फिल्म ‘बाः एक योद्धा’मा यी चर्चित आमा–छोरीको मुख्य भूमिका रहने पक्का भएको हो।
विगत दुई सातादेखि छायांकन भइरहेको यस फिल्मको निर्माण पक्षले कलाकारहरूको नाम गोप्य राखेको थियो। यतिबेला काठमाडौंका विभिन्न स्थानमा फिल्मको धमाधम छायांकन भइरहेको छ र झरना–सुहानाले सेटमा एकसाथ टेक दिइरहेका छन्।
गत चैत्र ९ गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको थियो। ‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको यो फिल्मले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ ।
संगीत र पार्श्व गायनमा दर्जनौँ गीत स्रोतामाझ दिइसकेका चर्चित संगीतकार हरि लम्साल यसै फिल्ममार्फत निर्देशकको रूपमा डेब्यु गर्न लागेको हुन्। साथै यस फिल्ममा लम्सालले निर्देशन मात्र नभई फिल्मको कथा र पटकथा समेत आफैँले तयार पारेका हुन्।
संगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका लम्सालको निर्देशकीय क्षमता र दृष्टिकोण कस्तो रहनेछ भन्नेमा प्रतीक्षा रहेको छ। फिल्मको शीर्षकले नै संकेत गरेझैँ, यो सिनेमाले नेपाली परिवारमा ‘बुवा’को महत्त्व र उनको अस्तित्वलाई दर्शाउनेछ। एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई फिल्ममा ‘योद्धा’को रूपमा चित्रण गर्न लागेको निर्माण पक्षले जानकारी दिएको छ।
यस फिल्मका निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर फिल्म ‘कर्मा निर्माण गरेका थिए। शिवराम श्रेष्ठको सिनेमाटोग्राफी रहने फिल्मको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन्। फिल्मको छायांकनको सम्पूर्ण कार्य सकिएपछि मात्र प्राविधिक पक्षको काम हेरेर प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।