काठमाडौं :
गत शुक्रबार अर्थात् पौष ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ ले नयाँ गीत सार्वजनिक गरेको छ। हलमा प्रदर्शन भइरहेको अवस्थामा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले आइतबार ‘जब फर्किन्छु घर’ शीर्षकको गीत सार्वजनिक गरेको हो।
गीतमा मनोज थापा मगरको संगीत संयोजन, गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर रहेको छ। गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ। निर्माण टिमले यो गीतले सिनेमाप्रति दर्शकको आकर्षण अझै बढाउने विश्वास व्यक्त गरेको छ।
सिनेमा प्रदर्शनमा आएपछि निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ सहित कलाकार गणेश उप्रेती, दीपाश्री निरौला, प्रियना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाल तथा लेखक गणेश कार्कीले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका छन्। दर्शकले सिनेमाले नेपालको वर्तमान अवस्थालाई यथार्थपरक रूपमा चित्रण गरेको प्रतिक्रिया दिएका छन्।
दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यो सिनेमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, महानगर प्रहरी प्रमुख राजु पाण्डे तथा जेन–जी नेता सुदन गुरुङलगायतले समेत हेरिसकेका छन्। उनीहरूले सिनेमा सन्देशमूलक र समसामयिक भएको प्रतिक्रिया दिएका छन्।
यस सिनेमाबाट अभिनेता गणेश उप्रेतीले करिब ९ वर्षपछि अभिनयमा कमब्याक गरेका छन्। उनको उपस्थितिले अघिल्लो पुस्ताका दर्शकलाई पनि हलसम्म आकर्षित गर्ने अपेक्षा गरिएको छ। सिनेमामा गणेश उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे,दीपाश्री निरौला र प्रियना आचार्य (मुन्नी) को अभिनय रहेको छ। सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामाको विशेष उपस्थिति पनि रहनेछ।
निर्देशक अर्जुन घिमिरेकै कथामा निर्माण भएको ‘झरीपछिको इन्द्रेणी’ बाट विमोचन दवाडी र जेसिका पोखरेलले अभिनयमा डेब्यु गरेका छन्। जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी भान्जी हुन्। सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् भने छायांकन बुद्ध थापाले गरेका छन्। अनिशा सेन्दाङ लिम्बू सिनेमाकी निर्मात्री हुन्।
नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य विषयवस्तु बनाएको छ। साथै, एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि सिनेमाले प्रस्तुत गरेको छ।
सिनेमाका सह–निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की रहेका छन् भने लाइन प्रोड्युसरको जिम्मेवारी योगेश खतिवडा र विनोद कँडेलले सम्हालेका छन्।