सुचना, समाचार र मनोरन्जन

विपना र पल अभिनित ‘आ बाट आमा’को जापान राइट्स बिक्री,अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग

काठमाडौं ।
चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’ को जापान प्रदर्शन अधिकार बिक्री भएको छ। जापानमा नेपाली फिल्म वितरण गर्दै आएको ओम शान्ति ओम इन्टरटेनमेन्टले उक्त फिल्मको जापान राइट्स खरिद गरेको हो।

निर्माण पक्षका अनुसार जापानका लागि ओम शान्ति ओम इन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठसँग औपचारिक कागजी सम्झौता सम्पन्न भएको छ। निर्देशक चन्द्र पन्तले जापानमा फिल्म प्रदर्शनका लागि अधिकार बिक्री भएको पुष्टि गर्दै यसअघि नै अस्ट्रेलिया, न्यूजील्याण्ड, युएई, कतार, बहराइन र इजरायललगायत देशमा पनि प्रदर्शन अधिकार बिक्री भइसकेको जानकारी दिए। उनका अनुसार अन्य देशबाट समेत फिल्मको प्रदर्शन अधिकारका लागि उच्च माग आइरहेको छ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘आ बाट आमा’ को गीत र टिजर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा फिल्मप्रति चासो बढ्दै गएको निर्माण टिमले जनाएको छ।

निर्देशक पन्तकै कथा तथा पटकथामा तयार भएको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीको मुख्य भूमिका रहेको छ। फिल्मको वितरण जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।

फिल्मको संवाद अभिमन्यु निरवीले लेखेका हुन् भने अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। छायांकन नवराज उप्रेतीले गरेका छन् भने संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको रहेको छ। कोरियोग्राफी गंभिर बिष्ट र दिलिप ओखेडाले सम्हालेका छन्।

फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माता करण सिंह रसाली हुन्। ट्रेलर तथा टिजर साहिल खानले सम्पादन गरेका छन्। चलचित्र ‘आ बाट आमा’ आगामी माघ १६ गते देखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.