सुचना, समाचार र मनोरन्जन

समाजका गतिलाई अवरुद्ध गरिरहेको मुद्दामाथि यादव भट्टराईको फिल्म ‘झिल्को’

काठमाडौं :

नेपाली समाजका गम्भीर समस्याहरूलाई केन्द्रमा राखेर फिल्म निर्माण गर्ने निर्देशक हुन् यादव भट्टराई । उनले फिल्म ‘झोला’ र ‘भोर’निर्माण गरेका थिए। करिब १४ वर्ष अगाडि रिलिज भएको ुझोलाु व्यापारिक रूपमा समेत सफल बनेको थियो।

सो फिल्मले नेपाली समाजमा एक समय विद्यमान अमानवीय सती प्रथालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको थियो। जुन प्रसिद्ध साहित्यकार कृष्ण धरावासीको ‘झोला’ नामक छोटो कथामा आधारित रहेको छ। त्यसपछि भट्टराईले निर्देशन गरेको ‘भोर’ फिल्म मधेस क्षेत्रको सामाजिक यथार्थमा आधारित कथामा बनेको थियो।

यसले दाइजो प्रथाका कारण महिलाहरूले भोग्नुपरेको हिंसा, घरेलु यातना र सामाजिक अन्यायलाई उजागर गरेको थियो।फिल्म ‘भोर’ले गहिरो सामाजिक सन्देश बोके पनि व्यावसायिक रूपमा भने सफलता हासिल गर्न सकेन्। तर, त्यो असफलताले निर्देशक भट्टराईलाई समाज परिवर्तनका लागि अझ गहिरा विषयमा काम गर्न प्रेरित गर्‍यो। सोही प्रयास स्वरूप भट्टराईको तेस्रो प्रयास चलचित्र ‘झिल्को’ हो, जसले आजको डिजिटल कुलतमाथि प्रश्न गरेको छ।

‘डिजिटल प्रवृत्तिले हाम्रो जीवनशैलीलाई विकृत बनाइरहेको छ। मानिसहरू परिश्रमभन्दा सजिलो मार्ग खोज्दै भर्चुअल दुनियाँमा हराइरहेका छन्,’भट्टराई भन्छन्, “झिल्कोले डिजिटल कुलतले एउटा सामान्य परिवार र बालबालिकामाथि कस्तो असर पार्छ भन्ने कथा प्रस्तुत गरेको छ।’

उनले थपे,‘आज हामी डिजिटल कुलतलाई सामान्य ठानिरहेका छौँ, तर यो आगोको झिल्को जस्तै बिस्तारै हाम्रो आत्मा डढाइरहेको छ। ‘झिल्को’ यही खतरा देखाउने चलचित्र हो।’

निर्देशक भट्टराईले दर्शकलाई ‘झिल्को’ फिल्ममार्फत आफ्नो गल्तीहरू पहिचान गरेर विवेकपूर्ण जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। ‘चलचित्र समाजको दर्पण र मार्ग निर्देशक हो,’ भट्टराई भन्छन्,‘त्यसैले हामीले यी संवेदनशील कथाहरू उठान गर्नु आवश्यक ठानेका हौँ। ‘झिल्को’ तपाईँ र तपाईँको परिवारको यथार्थसँग गहिरो रूपमा जोडिनेछ।’

‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ, जसमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी, सुनिल पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्।

फिल्मको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन्। ‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन्। फिल्म जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।

Leave A Reply

Your email address will not be published.