काठमाडौं :
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्म ‘झिँगेदाउ २’को प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार फिल्मका चार मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज ३ गते संविधान दिवसको अवसरमा देशव्यापी प्रदर्शनमा आउने भएको हो।
यसअघि दशैंको फूलपातीमा प्रदर्शनमा आउने भनिएपनि त्यो मितिमा फिल्मचलाउन निर्माताबीच होडबाजी देखिएपछि सुरक्षित मितिको रुपमा असोज ३ रोजिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए। मंगलबार सार्वजनिक पोस्टरमा अभिनेत्रीद्धय केकी अधिकारी र आँचल शर्मा र अभिनेताद्धय महेश त्रिपाठी र कुशल बिष्टलाई क्यारेक्टर लुक्समा प्रस्तुत छन्। जसले दर्शकमाझ सिनेमाप्रति कौतुहल्ता जगाउने अपेक्षा निर्माण टिमको छ।
कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमामा सरोज खनाल,आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी,आँचल शर्मा,कुशल बिष्ट,बसुन्धरा भुषाल,चैत्यदेवी सिंह,हिँउवाला गौतम, विजय देउजा,आशा भुषाल,अभय राज बराल,आशिष पुरुष लगायतका कलाकारको अभिनय रहनेछ ।
निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। रोशन श्रेष्ठको द्धन्द्व निर्देशन,रामजी लामिछानेको कोरियोग्राफी,अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहने सिनेमामा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर तथा पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन्।
बिष्णु घिमिरे ‘कल्पित’को छायांकन रहने सिनेमाको निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्। अहिले धमाधम डविङ भइरहेको सिनेमाको काभ्रे, काठमाडौं, भक्तपुर,साँखु,तनहुँ,बन्दीपुर,देवघाट,दोलखा, चित्लाङ,पालुङ र चितवनमा छायांकन गरिएको थियो।