सुचना, समाचार र मनोरन्जन

तथ्य बोल्ने पत्रकारिता लोकतन्त्रको आधार : मुख्यमन्त्री पाण्डे

पोखरा,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तथ्याङ्कमा आधारित पत्रकारिताले लोकतन्त्रलाई थप सुदृढ, पारदर्शी र उत्तरदायी बनाउने बताएका छन् । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशद्वारा आयोजित ८ हप्ते ‘डेटा ड्रिभन जर्नालिज्म’ तथ्याङ्क पत्रकारिता कोर्षको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा राखेका हुन् ।

मुख्यमन्त्री पाण्डेले अबको पत्रकारिता “कसले के भन्यो” भन्ने प्रतिक्रिया र भाषणभन्दा पनि “तथ्य र प्रमाणले के देखायो” भन्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिए । “परम्परागत पत्रकारिता राजनीतिक आरोपप्रत्यारोपमै सीमित हुँदै गएको छ, तर समाजको वास्तविक चित्र तथ्याङ्कले मात्र उजागर गर्छ,” मुख्यमन्त्रीले भने, “अङ्क र तथ्याङ्कले कहिल्यै झुट बोल्दैनन्। जब पत्रकारले बजेट, सरकारी प्रतिवेदन र विकासका सूचकाङ्कको गहिरो विश्लेषण गर्छन्, तब मात्र राज्य नागरिकप्रति जवाफदेही हुन्छ।”
सो अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेशका ११ वटै जिल्लाबाट सहभागी १८ जना क्रियाशील पत्रकारहरूलाई कोर्ष पूरा गरेको प्रमाणपत्र वितरण गरेका थिए ।उनले यस तालिमलाई सरकारको नियमित खर्चका रूपमा नभई दक्ष जनशक्ति निर्माण र सुशासनका लागि गरिएको ‘बौद्धिक लगानी’ का रूपमा व्याख्या गरे ।

पत्रकारितामा ‘नयाँ युगको सुरुवात’: प्रेस रजिष्ट्रार भण्डारी

कार्यक्रमकी सभाध्यक्ष एवं गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार बिमला भण्डारीले यो तालिम गण्डकी प्रदेशको पत्रकारितामा एउटा ‘नयाँ युगको सुरुवात’ भएको बताइन । उनले तालिमलाई सामान्य क्षमता विकास कार्यक्रम मात्र नभई पत्रकारिताको “क्रियात्मक रूपान्तरण अभियान” भएको उल्लेख गरिन ।

“हामीले प्रेस विज्ञप्ति र भाषणको भरमा चल्ने पत्रकारितालाई अङ्क र प्रमाणको आधारमा चल्ने बनाउन यो कोर्ष सञ्चालन गरेका हौँ,” भण्डारीले भनिन, “दीक्षित हुनुभएका १८ जना पत्रकार अब गण्डकी प्रदेशका लागि ‘डेटा फोकल पर्सन’ का रूपमा स्थापित भएका छन्।” उनले प्रेस रजिष्ट्रारको कार्यालयले सञ्चार माध्यमको नियमन मात्र नभई सञ्चारकर्मीहरूको हकहित र व्यावसायिक दक्षता वृद्धिका लागि निरन्तर रचनात्मक कार्यहरू गरिरहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
दक्षिण एसियाली स्तरको ‘मास्टर क्लास’

सेन्टर फर मिडिया रिसर्च नेपालको प्राविधिक सहयोगमा सञ्चालित यस कोर्षका मुख्य प्रशिक्षक उमेश श्रेष्ठले यसलाई तालिम मात्र नभई ‘मास्टर क्लास’ को रूपमा विकास गरिएको जानकारी दिए। प्रतिव्यक्ति करिब १ लाख रुपैयाँ लागत पर्ने यो उच्चस्तरको कोर्ष दक्षिण एसियाली स्तरको रहेको श्रेष्ठले दाबी गरे। कोर्षमा तथ्याङ्क सङ्कलन, क्लिनिङ, विश्लेषण, तथ्य प्रमाणीकरण र डेटा भिजुअलाइजेसनका आधुनिक डिजिटल उपकरणहरूको प्रयोगबारे व्यावहारिक अभ्यास गराइएको थियो।तालिममा श्रेष्ठका साथै चेतना कुँवर र अरुण कार्कीले सहजीकरण गरेका थिए । ८ हप्ता लामो यो कोर्षमा २ हप्ता भौतिक उपस्थिति र ६ हप्ता अनलाइन माध्यमबाट सघन प्रशिक्षण दिइएको थियो।

प्रविधिमैत्री पत्रकारितामा जोड

गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव कृष्णप्रसाद लम्सालले नतिजामुखी क्षमता अभिवृद्धि कार्यक्रमलाई सरकारले सधैं प्राथमिकतामा राख्ने बताए । पत्रकारिताको बदलिँदो स्वरूपसँगै डेटा विश्लेषणको सीप अपरिहार्य भएको भन्दै उनले पत्रकारहरूलाई तथ्यमा आधारित सूचना सम्प्रेषणमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गरे ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारिताको प्रवर्द्धन र व्यावसायिक विकासका लागि सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरे । उनले यस्ता प्राविधिक तालिमले पत्रकारहरूको विश्वसनीयता बढाउने धारणा राखे ।
समापन समारोहमा सहभागीको तर्फबाट प्रकाश ढकाल, खिमा गुरुङ, श्रीधर उपाध्याय र युवराज श्रेष्ठले ८ हप्ताको सिकाइले आफ्नो पत्रकारिता गर्ने दृष्टिकोणमै ठूलो परिवर्तन ल्याएको र अङ्कहरूभित्र लुकेका मानवीय कथा खोज्न सक्षम भएको अनुभव सुनाएका थिए।

प्रेस रजिष्ट्रार बिमला भण्डारीको अध्यक्षतामा सम्पन्न सो समारोहको सञ्चालन प्रेस रजिष्ट्रार कार्यालयका सूचना प्रविधि इन्जिनियर विवेक घिमिरेले गरेका थिए । यस ऐतिहासिक कोर्षले गण्डकी प्रदेशको पत्रकारितालाई अङ्कदेखि अर्थसम्म र तथ्याङ्कदेखि सुशासनसम्म जोड्न महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.