सुचना, समाचार र मनोरन्जन

७औँ ज्योति फिल्म्स म्युजिक अवार्ड सम्पन्न, ३९ विधामा कलाकार सम्मानित

काठमाडौं :

ज्योति फिल्म्स म्युजिक अवार्ड २०८२ को सातौँ संस्करण विशेष समारोहबीच काठमाडौंमा सम्पन्न भएको छ। “हाम्रो अभियान, कलाकारलाई सम्मान” भन्ने मूल नारासहित रोयल मुभिजको प्रस्तुतिमा आयोजना गरिएको अवार्ड समारोहमा गीत–संगीत क्षेत्रका स्थापित तथा नवप्रतिभा कलाकारहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो।

अवार्ड समारोहमा राष्ट्रिय भाव, पप, आधुनिक, लोकदोहोरी, लोकआधुनिक, चाडपर्व विशेष, भाषाभाषी तथा संस्कृति झल्कने गीतहरू समावेश गरिएको थियो। आयोजक संस्था रोयल मुभिज प्रालिका अध्यक्ष निरेन श्रेष्ठका अनुसार गीत, सिर्जना र कलाकारको प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना हुँदै आएको हो।

समारोह वरिष्ठ गायक कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक भाईराम श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी निवर्तमान अध्यक्ष बबिता श्रेष्ठ, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, बेथानचोक–५ का वडाध्यक्ष राजकुमार वाइबा, अग्रज गायिका मिरा राणा, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक लाक्पा शेर्पा, वरिष्ठ गायिका चन्द्रकला शाह, गायक घमेश दुलाल, यसकुमार र गायिका सिता थापालगायतको उपस्थिति थियो। कार्यक्रमको उद्घाटन पञ्चेबाजा बजाएर गरिएको थियो।

कार्यक्रममा ३९ विधामा सम्मान तथा अवार्ड वितरण गरिएको थियो। लाइफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ गायक रेशम थापालाई नगद रु. २२,२२२ सहित प्रदान गरिएको छ। त्यसैगरी, पत्रकार सम्मान पत्रकार ऋषि थपलियालाई प्रदान गरियो भने कला सम्मान दिवाकर भण्डारी, विष्णु तामाङ, गंगा सोनाम, राजेश थापा, नारायण दंगाल, सञ्जिव ठकुरी र अशिम कुमार कटुवाललाई प्रदान गरिएको थियो।

जुरी सम्मान तर्फ गायक रत्नदीप चौधरी, मोडेल सञ्चिता शाही र सावित्री के.सी. सम्मानित भए। कार्यक्रममा समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो।

लोकदोहोरीतर्फ सर्वोत्कृष्ट हुनेहरूमा
गायक निरम कुमार शाही (‘उखुमै बनायो’),
गायिका बिन्दा परियार (‘ओ वेबि नो वेबि’),
लय सुमन विश्वकर्मा (‘मुटु खाइरयो’),
नव गायिका सबिना बुढामगर (‘रातो फूल’),
महिला मोडेल कोमल नेपाली (‘स्याउली बजारमा…’)
र पुरुष मोडेल कुमार सुनेल (‘चोली तुनामा’) रहेका छन्।

आधुनिकतर्फ
गायक कृष्ण के.सी. (‘भिरको बाटो’),
गायिका स्मिता प्रधान (‘मैले तिम्रो माया’),
गीतकार भीम कुमार ओझा (‘अनिदो रात’),
संगीतकार रोसन सिंह (‘मायाले गरिबी’)
र मोडेल बिक्रम बुढाथोकी तथा मल्किया राजोपाध्याय सर्वोत्कृष्ट घोषित भए।

त्यस्तै, वर्षकै सर्वोत्कृष्ट भिडियो मोडेल पुरुषको अवार्ड सागर लम्साल (बले) लाई ‘पोखरा पृथ्वी चोकैमा’ बाट प्रदान गरिएको छ। अन्य विधामा पनि गायन, संगीत, मोडलिङ, छायांकन र टेलिभिजन अभिनयतर्फका कलाकारहरू सम्मानित भएका छन्।

Leave A Reply

Your email address will not be published.