सुचना, समाचार र मनोरन्जन

‘कमेडी दरबार’ टिमको ‘क का कि की’मा गौरी-रेखा देखि तृप्ती-महेशसम्म

काठमाडौं :

लोकप्रिय टेलिभिजन हास्य कार्यक्रम ‘कमेडी दरबार’को टिमले आफ्नो पहिलो चलचित्र ‘क का कि की’ को निर्माण घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको थिम पोस्टरमार्फत निर्माण टिमले फिल्मबारे औपचारिक घोषणा गरेको हो।

पोस्टरअनुसार फिल्ममा गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठी मुख्य भूमिकामा देखिनेछन्। साथै, टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, र सीडी विजय अधिकारीको विशेष भूमिका रहने जनाइएको छ।

विक्की अग्रवाल र श्रद्दा प्रसाईँले चलचित्रको निर्देशन संयुक्त रूपमा गर्ने छन्। फिल्मको पटकथा अग्रवालले लेखेका हुन् भने कथा लेखनमा बिकाश अर्याल र सरोज भण्डारीको पनि योगदान रहनेछ। सुदिप बराल चलचित्रका छायांकन निर्देशक (DOP) रहनेछन्।

श्रद्दा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा निर्माण हुने फिल्म पूर्ण कमेडी शैलीमा तयार गरिनेछ। पोस्टर, टाइटल र कलाकारको प्रस्तुतीले पनि सो कुरा संकेत गरेको निर्देशक टिमले जनाएको छ।

चलचित्रको छायांकन दशैंको टिकाको भोलीपल्टदेखि सुरु हुने निर्देशक अग्रवालले जानकारी दिए। फिल्मको बजेट र प्रदर्शन मिति भने हाल खुलाइएको छैन।

चलचित्रको वितरण श्री वेंकेटेशले, अन्तर्राष्ट्रिय वितरण सेवन सिजले, र डिजिटल अधिकार ओएसआर डिजिटलले लिने भएका छन्। थिम पोस्टर रोयल भिमसेनले तयार पारेका हुन्।

निर्देशक विक्की अग्रवालले फिल्मको घोषणा गर्दै भने, “फिल्मी करिअरको सुरुवातमै अग्रजहरूसँग सहकार्य गर्ने अवसर पाउनु गर्वको विषय हो। ‘कमेडी दरबार’ जस्तै, हलहरूमा पनि दर्शकको हाँसो ल्याउने हाम्रो लक्ष्य हो।”

Leave A Reply

Your email address will not be published.