कोलम्बो, श्रीलंका :
श्रीलंकामा आयोजित २५औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट ‘लक्मल्स च्यालेञ्ज–२०२५’ मा नेपालका सनि सिंहले स्वर्ण पदक जित्दै गौरव हासिल गरेका छन्। प्रतियोगितामा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघबाट प्रतिनिधित्व गरेका सिंहले दुई राउण्ड बराबरीपछि अन्तिम तथा निर्णायक भिडन्तमा श्रीलंकाका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक, ट्रफी र एक लाख नगद पुरस्कार जितेका हुन्।
प्रतियोगितामा नेपालका खेलाडीहरू संघका अध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा सहभागी भएका थिए। अफिसियल टिममा प्रशिक्षक रामशरण राणा, प्रशिक्षक सम्पूर्ण महर्जन, र खेलाडी सनि सिंह सहभागी थिए।
प्रतियोगिताको प्रमुख अतिथि वर्ल्ड कुमिट फेडेरेसनका उपाध्यक्ष तथा वर्ल्ड ब्याकुरेल काईकान कराते अर्गनाइजेसनका अध्यक्ष कान्चो सोशी सुगिहारा थिए। प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका खेलाडीहरूको सहभागिता रहेको थियो। यस सफलताले नेपाली कराँते खेललाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याएको खेल विज्ञहरूले बताएका छन्।
