काठमाडौं :
भारतीय रियालिटी शो स्प्लिट्सभिल्ला १४ मा उत्कृष्ट आठमा स्थान बनाएका अनिकेत पाख्रिन लामा नेपाली चलचित्र ‘सुम्निमा’ मार्फत फिल्म क्षेत्रमा डेब्यु गर्दै छन्। निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको यो प्रेमकथानक चलचित्रका लागि अनिकेतलाई अडिसनमार्फत छनोट गरिएको हो।
नयाँ अनुहार भए पनि अनिकेतको आत्मविश्वास, प्रस्तुतीकरण र व्यक्तित्वले निर्माण टिमलाई आकर्षित गरेको निर्देशक चाम्सले बताए। चलचित्र गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह-निर्माणमा बन्नेछ।
‘सुम्निमा’ विशुद्ध प्रेम, द्वन्द्व र सांस्कृतिक पृष्ठभूमिमा आधारित कथामा निर्माण गरिँदैछ। यद्यपि नामले नारीप्रधान जस्तो लागे पनि कथा बहुआयामिक हुने चाम्सको भनाइ छ।
यसअघि चलचित्रमा उपासना सिंह ठकुरी, कुन्साङ बमजन र अनुप विक्रम शाही अनुबन्धित भइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टिमको छनोट प्रक्रिया जारी छ।
राजीव थापाको लेखनमा तयार भएको फिल्मको छायांकन अगस्टदेखि लन्डन र नेपालमा सुरु हुने तयारी छ। निर्देशक चाम्सको पछिल्लो बायोपिक फिल्म ‘अञ्जिला’ ले दर्शकको साथ पाएको भन्दै ‘सुम्निमा’लाई पनि अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी निर्माण गरिने जनाइएको छ।