काठमाडौं :
गत जेठ ८ गतेबाट देशव्यापी रूपमा प्रदर्शन भइरहेको फिल्म ‘काजी’को नयाँ असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक भएको छ। प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको यस असारे भाकामा गायिका रचना रिमाल र संगीतकार सिवाकोटीकै स्वर रहेको छ।
रोपाइँको पृष्ठभूमिमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा र संदीप बाबु लोहनीलाई देख्न सकिन्छ, जसमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
गत शुक्रबारबाट हलमा प्रदर्शनमा आएको यस फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ । फिल्मले राम्रो प्रतिक्रिया पाएपछि अभिनेता विपिन कार्की एक्लै विभिन्न हलहरूमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । हलमा भेट्न पुगेका दर्शकहरूले फिल्मको सिक्वेल अर्थात् ‘काजी २’ को माग गरिरहँदा अभिनेता कार्कीले दर्शकको माया र साथ मिलेमा पक्कै पनि सिक्वेल बन्ने भन्दै उत्साह व्यक्त गरेका छन् ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मका प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् । ग्रामीण परिवेशको भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारिएको दाबी गरिएको यस फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको कथा लेखन रहेको फिल्मका निर्माता नेहान रिजाल र विकाशराज जोशी हुन् भने असिम काफ्ले कार्यकारी निर्माता रहेका छन् ।
फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, विपीन मल्लको सम्पादन तथा बनिश शाहको सुपरभाइजर सम्पादन रहेको छ । त्यस्तै, श्याम कुँवरको रंग संयोजन, सागर अर्यालको साउण्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत र प्रकाश हमालको प्रोडक्सन हेडका रूपमा सहभागिता रहेको छ ।