काठमाडौं :
नेपाली सुगम संगीत क्षेत्रका स्थापित गायक तथा संगीतकार सुजन चापागाईँको नयाँ यात्रा गीत ‘गाजले सुनचरी’ सार्वजनिक भएको छ। प्रतिष्ठित निर्माण कम्पनी आर्टमान्डु र सुजनको आधिकारिक युट्युब च्यानलको सहकार्यमा यो नयाँ म्युजिक भिडियो बजारमा ल्याइएको हो।
विशेष गरी यात्रा गर्न रुचाउने र नयाँ ठाउँ घुमेर जीवनलाई उन्मुक्त रूपमा जिउन चाहने ‘घुमन्ते आत्मा’हरू प्रति समर्पित गर्दै यो कलात्मक भिडियो तयार पारिएको छ।
गायक चापागाईँले यस गीत मार्फत आफ्नो जन्मभूमि चितवनप्रति विशेष प्रेम र कृतज्ञता प्रकट गरेका छन्। आफूले पहिलो पटक सास फेरेको र संगीतको पहिलो धुन सुनेको चितवनको माटो तथा बाल्यकालको स्मृतिलाई उनले गीतको माध्यमबाट स्रोतामाझ पस्किएका हुन्। प्रख्यात गीतकार हर्क साउदको शब्द रचना रहेको यस गीतमा संगीत र स्वर स्वयम् सुजन चापागाईँको रहेको छ भने गीतको बीचमा समावेश कविताको अंश पल्लवीले रचना गरेकी हुन्।
गीतको अडियो उत्पादनलाई निकै मिहिनेतका साथ उत्कृष्ट बनाइएको छ। कोविद बज्रको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको यस गीतमा बिकेश बज्रले स्ट्रिङ्स अर्केष्ट्रेसन र रेकर्डिङ सम्हालेका छन्।
बज्र क्रिएसन रेकर्ड्समा रेकर्ड गरिएको यस गीतमा जगन्नाथ धौगोडाको तवला, प्रिन्स नेपालीको सारङ्गी र रत्न विकको बाँसुरीको धुनले नेपालीपनको सुगन्ध थपेको छ। गीतलाई झनै सुमधुर बनाउन विभिन्न कलाकारहरूको गितार, भायोलिन, सेलो र ब्याक भोकलको प्रयोग गरिएको छ।
गीतको अडियो जति सशक्त छ, यसको भिडियो पनि उस्तै मनमोहक बनेको छ। अभिषेक सुवेदीको निर्देशनमा तयार पारिएको यस म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल सम्पदा घिमिरे र समिशन जिसीले मुख्य भूमिकामा अभिनय गरेका छन्। दुई अपरिचित यात्रीहरू बीच यात्राकै क्रममा मौलाउने सम्बन्ध र चितवनको प्राकृतिक सौन्दर्यलाई भिडियोमा निकै कलात्मक रूपमा बुनिएको छ।
सबिन लिङ्दम लिम्बु (प्याटु) को छायाङ्कन र रैवत श्रेष्ठको सम्पादन तथा कलर ग्रेडिङ रहेको यस भिडियोमा चितवनका विभिन्न रमणीय पर्यटकीय स्थलहरू र रिभर ब्याङ्क जंगल रिसोर्ट लगायतका आकर्षक लोकेसनहरू फिचर गरिएका छन्।
सार्वजनिक भएसँगै यस गीतले युट्युब र सामाजिक सञ्जालमा संगीतप्रेमी तथा घुमफिरका सौखिनहरूबाट निकै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।