काठमाडौं :
फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। सार्वजनिक ट्रेलरमा समावेश भावनात्मक संवाद र पारिवारिक कथावस्तुका साथै अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको अभिनयलाई सामाजिक सञ्जालमा विशेष चर्चा गरिएको छ।
पारिवारिक सम्बन्ध, प्रेम, त्याग र विश्वासलाई भावुक शैलीमा प्रस्तुत गरिएको ट्रेलर मुभी चार्टको शीर्ष पाँचभित्र पर्न सफल भएको छ। फिल्ममा विपीन र केकीको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन्। विशेषगरी ग्रामीण र मध्यमवर्गीय नेपाली परिवारको परिवेश, कलात्मक छायांकन र ब्याकग्राउन्ड म्युजिकले ट्रेलरलाई अझ प्रभावकारी बनाएको छ।
ट्रेलरमा विपीनको ‘भगवानले बा–आमा त दिएनन्, तर यिनीलाई दिए’ र केकीको ‘बरु भगवानबाट गल्ती हुन्छ, मेरो काजीबाट हुँदैन’ जस्ता संवादहरूले दर्शकको मन छोएको छ। फिल्मले प्रेमको सुन्दर पक्षसँगै सम्बन्ध बचाउन मानिसले भोग्ने संघर्ष र नैतिक द्वन्द्वलाई मुख्य विषय बनाएको संकेत दिएको छ।
लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यस फिल्ममा विपीन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ। प्रदीप भारद्धाजको कथा रहेको यस फिल्मलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन्।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नेहान रिजाल र विकाशराज जोशी निर्माता रहेका छन्। चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत र विपीन मल्लको सम्पादन रहेको फिल्म ‘काजी’ आगामी जेठ ८ गतेदेखि देशभरका हलमा प्रदर्शन हुँदैछ। फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने जिम्मेवारी लिएको छ।