काठमाडौं :
आगामी भदौ १९ गते (४ सेप्टेम्बर)बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ककाकिकी’ को लिरिकल थेम गीत सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतसँगै फिल्मप्रतिको दर्शकको उत्सुकता थप बढेको छ।
सार्वजनिक गीतमा आदित्य प्रधानको स्वर रहेको छ भने शिशिर थतालको शब्द र संगीत रहेको छ। यसअघि सार्वजनिक फस्ट लुक भिडियोमा थोरै हुकलाइन राखिएको थियो । जसलाई दर्शकले निकै मन पराएका छन् । यसअघि सार्वजनिक गरिएको फिल्मको फस्ट लुक भिडियोले सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा पनि बटुलेको थियो।
विशेषगरी अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठीका क्यारेक्टर लुक्सले दर्शकको ध्यान तानेका थिए। फस्ट लुकपछि चलचित्रप्रेमीहरूले लामो समयपछि नेपाली सिनेमामा फरक स्वाद, फरक प्रस्तुति र नयाँ कथावस्तु बोकेको फिल्म हेर्न पाइने प्रतिक्रिया दिइरहेका छन्। चलचित्रमा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोगलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ भने अब निर्माण टिमले ट्रेलर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। लिरिकल थेम गीत सार्वजनिक भएसँगै प्रचार अभियानलाई अझ तीव्र बनाइएको छ। बिक्की अगरवाल र श्रद्धा प्रसाईँको संयुक्त निर्देशन रहेको फिल्ममा अनीश बुढाथोकी सहायक निर्देशकका रूपमा रहेका छन्। सुमन अगरवालको कन्सेप्टमा निर्माण भएको फिल्मको कथा तथा पटकथा लेखन बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले गरेका हुन्।
चलचित्रको छायांकन सुदीप बरालको टोलीले गरेको हो। फिल्मको टाइटल आर्ट ट्राइडेन्ट कन्सेप्टले तयार पारेको हो भने पोस्टर डिजाइन कार्यालयले गरेको छ। फस्ट लुक, पोस्टर र अहिले सार्वजनिक भएको लिरिकल थेम गीतले ‘ककाकिकी’लाई वर्षकै फरक र प्रतीक्षित चलचित्रका रूपमा स्थापित गर्न सफल भएको देखिन्छ। अब ट्रेलरमार्फत फिल्मले दर्शकमाझ कस्तो प्रभाव छोड्ने हो भन्ने प्रतीक्षा बढ्दो छ।