काठमाडौँ :
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधन र पूर्वाधारमा ठूलो क्षति भएपछि नेपाली कलाकारहले आर्थिक सहयोग गर्न थालेका छन्। प्रधानमन्त्री राहतकोषले बैकको क्युआर कार्ड सार्वजनिक गरेपछि कलाकारहरुले आफ्नो आर्थिक क्षमता अनुसार सहयोग गरिरहेका छन्।
यसैक्रममा सबैभन्दा धेरै आर्थिक सहयोग गर्नेमा अभिनेता विराज भट्ट रहेका छन्। उनले बिहीबार बिहान १ लाख ५१ हजार रुपैयाँ कोषमा सहयोग गरेका जानकारी दिएका छन्। साथै आर्थिक सहयोग गर्दै विपद्मा परेकाहरूको उद्दार, राहत र सुरक्षित पुनर्स्थापनाका लागि सबै नेपालीलाई एकजुट हुन पनि आग्रह पनि गरेका छन्।
अभिनेत्री नीता ढुङ्गाना अधिकारीले पनि हिजो कोषमा एक लाख जम्मा गरेकी थिइन्। उनले राज्यको कोषमा आर्थिक सहयोग गरेपछि अरु कलाकार पनि तातिएका हुन्। सोही क्रममा पछिल्लो समयकी चर्चित गायिका बेनिशा पौडेलले एक लाख सहयोग गरेकी छन्। वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि संयुक्त रुपमा २ लाख सहयोग गरेका छन्। गायिका रचना रिमालले पनि १ लाख सहयोग गरेको बताएकी छन्।
साथै अभिनेत्री माल्भिका सुब्बा र निर्माता, बितरक गोविन्द शाहीले जनही ५०–५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्। पुराना निर्माता सुशील पोखरेलले ३३ हजार ३ सय ३३ रुपैयाँ,गायक शिव परियार र गायिका एलिना चौहानले जनही २५–२५ हजार रुपैयाँ सहयोग गरेका छन्। गायक रामकृष्ण ढकालले प्रधानमन्त्री कोषमा ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
अभिनेता अनमोल केसीले पनि कोषमा सहयोग गरेको जानकारी दिँदै सबैलाई आफूले सकेको सहयोग गर्न अपिल गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेको छु । अब तपाईंहरूलाई पनि विनम्र आग्रह । रकम सानो वा ठूलो होइन, सहयोगको भावना ठूलो हो ।’ उनले आफूले गरेको सहयोग रकम भने खुलाएका छैनन्।
अभिनेत्रीहरू ऋचा शर्मा, नीता ढुंगाना, आँचल शर्मा, जिया केसी, हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)लगायतले पनि आर्थिक सहयोग गर्दै सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।