काठमाडौं :
फागुन १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कल्ली’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले शनिबार फिल्मको टिजर सार्वजनिक गरेको हो।
सार्वजनिक टिजरले फिल्मको विषयवस्तु र प्रस्तुतिलाई फरक तथा बलियो रूपमा उजागर गरेको छ। किरण नेपालीको निर्माणमा बनेको फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। सुनारकै कथामा आधारित फिल्मको पटकथा महेश दवाडीले लेखेका छन्।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका रहेको छ।
उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारका रूपमा देखिएका छन्। नायिका परिक्षा लिम्बुलाई टिजरको अन्त्यमा प्रस्तुत गरिएको छ, जसलाई निर्माण पक्षले सरप्राइज प्याकेजका रूपमा राखेको जनाएको छ।
निसाल पौडेलको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ। आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको चलचित्रमा एनबी महर्जनको एक्सन समावेश छ। सुरज आचार्य फिल्मका निर्माण प्रमुख हुन्।
फिल्म ‘कल्ली’ले भगवान् र राक्षसको अवधारणामार्फत मानिसको मनभित्र हुने द्वन्द्वको कथा प्रस्तुत गर्छ। मानिसभित्रको देवताले परिश्रम, मिहिनेत र इमानको भाव बोकेको देखाइन्छ भने राक्षसले लोभ, लालच र मोहलाई प्रतिनिधित्व गर्छ। आफ्नो भित्री देवतालाई त्यागेर राक्षसी प्रवृत्तिलाई अंगालेपछि उत्पन्न हुने परिस्थितिलाई फिल्मको कथावस्तु बनाइएको छ।
टिजरमा प्रयोग गरिएको ब्याकग्राउन्ड स्कोर, संवाद र दृश्य संयोजनले दर्शकको चासो बढाउने देखिएको छ। लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो।