ललितपुर :
रेडियो कान्तिपुरले आउँदो असार २८ गते ‘नेशनल म्यूजिक अवार्ड २०८१’ आयोजना गर्ने भएको छ। कार्यक्रम ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुनेछ, जहाँ ३ हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ।
१४ विधामा पुरस्कार वितरण गरिने यस अवार्ड समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पनि समावेश गरिएको आयोजकले जनाएको छ। रेडियो कान्तिपुरको स्थापनादेखि सञ्चालन हुँदै आएको यो कार्यक्रम यसपटक विशेष स्वरूपमा प्रस्तुत गरिने छ।
कार्यक्रम अन्तर्गत हुने कन्सर्टमा चर्चित युवा गायक कुमा सागर, दुर्गेश थापा, सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्मालगायत १० जना कलाकारले सांगीतिक प्रस्तुति दिनेछन्। त्यस्तै, सुन्दर खनाल र सुजिता श्रेष्ठले हास्य प्रस्तुति प्रस्तुत गर्नेछन्।
कान्तिपुर टेलिभिजनका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुरजसिंह ठकुरीका अनुसार यस वर्षको कार्यक्रम आम दर्शकमाझ पुर्याउने उद्देश्यले होटलको हलमा नभई खुला स्थानमा आयोजना गर्न लागिएको हो। उनले भने, “पहिला पाँचतारे होटलमा सीमित दर्शकबीच कार्यक्रम हुन्थ्यो। अब भने हामी आम दर्शकसँगै बसेर अवार्ड वितरण तथा सांगीतिक रमाइलो गर्दैछौं।”
रेडियो कान्तिपुरका स्टेशन म्यानेजर पवन आचार्यले पछिल्लो केही वर्षदेखि रेडियो कान्तिपुरबाहेक अन्य रेडियो तथा मञ्चहरूमा चर्चित गीतहरूलाई पनि अवार्डको दायरामा ल्याइएको जानकारी दिए। “पहिला कान्तिपुरमा मात्रै बजेका गीतलाई समावेश गरिन्थ्यो,” उनले भने, “अब भने राष्ट्रिय स्तरका गीतलाई समेट्दै सर्जक र कलाकारप्रतिको सम्मानका रूपमा कार्यक्रमलाई विस्तार गरिएको छ।”
कार्यक्रममा सहभागिताका लागि टिकटको व्यवस्था गरिएको छ। आयोजकका अनुसार टिकट राख्नुको उद्देश्य केवल राजस्व संकलन नभई कार्यक्रमप्रति अपनत्व र स्रष्टाप्रतिको सम्मान प्रकट गर्नु हो।
उक्त कार्यक्रम रेड कार्पेटसहित भव्य रूपमा प्रस्तुत गरिनेछ। कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहनेछ।
