काठमाडौं :
निर्देशक राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को छायांकन सम्पन्न भएको छ। सुटिङ सुरु भएको २१ दिनमै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माण टिमले जनाएको छ।
निर्देशक बस्नेतका अनुसार धनकुटाबाट सुरु गरिएको छायांकन सुनसरीको चतहरा र बराहक्षेत्र आसपासका क्षेत्रमा गरिएको हो। एक महिनाको कार्यतालिका बनाइए पनि कलाकार र प्राविधिकको मेहनतका कारण समयभन्दा अगावै काम सकिएको उनले बताए।
फिल्ममा जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतको अभिनय रहेको छ।
फिल्ममा जितु नेपालको जोडीका रूपमा प्रियना आचार्य देखिएकी छन्, जुन उनीहरूको पहिलो सहकार्य हो। प्रियना यसअघि झरिपछिको इन्द्रेणी मा अभिनय गरिसकेकी छन्।
बालकुमार राई निर्माता रहेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता छन्। मुख्य सहायक निर्देशक रोजल थापा, छायांकन डम्बर राईले गरेका हुन्। कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा द्वन्द्व किरण दाहाल, संगीत दिप्सन लिम्बु र प्रोडक्सन सिबी भण्डारीको रहेको छ। फिल्मको प्रदर्शन मिति भने हालसम्म घोषणा गरिएको छैन।