काठमाडौँ,
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थामा दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
उहाँले विश्वविद्यालय र प्रतिष्ठानमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडानसहित दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउन उपकुलपतिहरूलाई निर्देशन दिनुभएको हो । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बेलुका देशभरिका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग साढे तीन घण्टासम्म समसामयिक विषयमा छलफल गर्नुभएको थियो ।
त्यस क्रममा उहाँले राजनीतिक दलसँग आबद्ध विद्यार्थी तथा कर्मचारी सङ्गठनहरूको संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने जानकारी गराउनुभयो । प्रधानमन्त्री शाहले अस्पताल, क्याम्पस, विद्यालय जस्ता संस्थामा राजनीति गर्ने वा कुनै पनि दलको झण्डा, प्रभाव वा सङ्गठन राख्न नहुनेमा जोड दिनुभयो ।
छलफलमा उपकुलपतिहरूले नवयुवा आन्दोलन र चुनावपछि विद्यार्थी राजनीतिक गतिविधि सुस्त भएको र त्यस्ता सङ्गठन हटाउन पहल भइरहेको बताउनुभएको थियो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले विद्यार्थीको राजनीति हस्तक्षेप र तालाबन्दी हटाउनुपर्ने माग गर्नुभयो । जवाफमा प्रधानमन्त्री शाहले कुनै पनि राजनीतिक विद्यार्थी र कर्मचारी सङ्गठन खारेज गर्दा सुरक्षालगायत कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिनुभएको छ ।
यस्तै, परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिनुभयो । सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न विद्यालय, विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठनका संरचना हटाउने उल्लेख गरिएको छ ।