काठमाडौं :
कर्णाली प्रदेशको सांस्कृतिक, भाषिक र पर्यटकीय सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित सुरु गरिएको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८२ अन्तर्गत ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिता शुक्रबार काठमाडौंमा औपचारिक रूपमा घोषणा गरिएको छ।
नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित उक्त कार्यक्रममा महोत्सवका सल्लाहकार तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार डा. महेन्द्र कुमार मल्लको अध्यक्षता थियो। कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही प्रमुख अतिथि थिए।
त्यसैगरी, कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी, दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, चलचित्रकर्मी दीपक राज गिरी, हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, कन्टेन्ट क्रिएटर सृजना सिज्जु, पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलिया लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
महोत्सवका निर्देशक चक्रबहादुर चन्दले ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको उद्देश्य, महत्व र सम्भावनाबारे जानकारी दिँदै कर्णालीका लुकेका कथा, इतिहास, संस्कृति र सामाजिक यथार्थलाई चलचित्रमार्फत उजागर गर्ने लक्ष्य रहेको बताए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले कर्णालीलाई विश्वभर चिनाउन कथा प्रभावकारी माध्यम हुन सक्ने बताए। उनले भने, “कर्णालीका उच्च भूभागमा पैसा तिरेर जानुपर्ने अनुभवलाई प्रचार गरियो भने त्यहाँको आकर्षण बढ्न सक्छ। त्यसलाई चिनाउन नीति निर्माणमा पनि ध्यान दिन जरुरी छ।”
चलचित्रकर्मी दीपक राज गिरीले चलचित्र नै कर्णालीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सबभन्दा प्रभावकारी माध्यम भएको बताए। “आजको दिनमा कथा वाचन चलचित्रमा कमजोर हुँदै गइरहेका बेला ‘फिल्म स्टोरी बैंक’ सुरु हुनु अत्यन्त प्रशंसनीय छ,” उनले भने।
पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले यस अवधारणाबारे पहिलो पटक सुनेको उल्लेख गर्दै प्रदेश सरकारमार्फत सहयोग गर्न पहल गर्ने प्रतिबद्धता जनाए। “कथाको सङ्कलन गरी निर्माता–निर्देशकसमक्ष पुर्याउने अवधारणालाई सघाउने वातावरण तयार पार्छु,” उनले भने।
महोत्सव सल्लाहकार डा. मल्लले कर्णालीको मौलिकताका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताए। “नेपालको मौलिकता देखाउन कर्णाली पहिलो नम्बरमा आउँछ,” उनले भने।
प्रतियोगिताका नियमहरू
‘फिल्म स्टोरी बैंक’ प्रतियोगितामा नेपाल वा विदेशमा रहेका नेपाली नागरिक सहभागी हुन सक्नेछन्। कथा मौलिक हुनुपर्नेछ, पहिले प्रकाशित वा चलचित्रमा प्रयोग नभएको हुनुपर्नेछ। कथा कर्णालीको संस्कृति, परम्परा, इतिहास वा सामाजिक यथार्थमा आधारित हुनुपर्नेछ।
प्रतियोगितामा उत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै, उत्कृष्ट १५ कथाका लेखकलाई चलचित्र स्क्रिप्ट लेखन तालिम दिइनेछ। तीमध्ये छानिएका कथाहरूलाई चलचित्र निर्माणमा समावेश गरिनेछ र लेखकलाई ‘कथा लेखक’को श्रेय दिइनेछ, साथै उचित पारिश्रमिक पनि प्रदान गरिनेछ।
महत्वपूर्ण मिति र सम्पर्क
- कथा पठाउने अन्तिम म्याद: २०८२ पुस १६
- नतिजा सार्वजनिक: २०८२ माघ १८
- स्क्रिप्ट लेखन तालिम: २०८२ फागुन १३
- पुरस्कार वितरण समारोह: २०८२ फागुन २३
- कथा पठाउने इमेल: [email protected]
‘घुमौं कर्णाली, हेरौं कर्णाली’ अभियानअन्तर्गत सञ्चालित यो महोत्सवले कर्णालीलाई विश्वस्तरीय चलचित्र पर्यटन गन्तव्य बनाउने लक्ष्य लिएको छ। साथै, महोत्सवले जलवायु परिवर्तन र दिगो पर्यटनजस्ता सामाजिक तथा वातावरणीय विषयमा पनि ध्यान केन्द्रित गर्दै आएको छ।
फोटो: केशव प्रसाद अधिकारी