सुचना, समाचार र मनोरन्जन

काठमाडौँमा अतिक्रमित १ हजार ८५९ रोपनी जग्गा खाली गर्न बाटो खुला

काठमाडौँ,

विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा नआएको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई कार्यान्वयनमा जाने भएको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतबाट सरकारको नाममा जारी गरेको निर्देशनात्मक आदेशलाई शीरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । साथै, सर्वोच्च अदालतको उक्त आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख (लगत) राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

मन्त्रिपरिषद् बैठकले यी दुवै निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को यस निर्णयसँगै २०२१ सालको नापीका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालिन काठमाडौँ महानगर क्षेत्रका ३५ वटै वडामा अतिक्रमण भएको (१ हजार ८५९ रोपनी १४ आना ३ पैसा ३ दाम) सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ ।

त्यस्तै उल्लिखित सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमणकारीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने प्रक्रिया अघि बढाउन सहज हुने देखिएको छ ।

Leave A Reply

Your email address will not be published.