सुचना, समाचार र मनोरन्जन

होलीमा मतदानप्रति सचेत रहन केकी अधिकारीको अपिल

काठमाडौं :

अभिनेत्री केकी अधिकारीले होली पर्वको अवसर पारेर मतदातालाई जिम्मेवार रहन आग्रह गरेकी छन्। परिवारसँग होली मनाएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सबै नागरिकलाई मतदानमा विवेकपूर्ण निर्णय गर्न अपिल गरेकी हुन्।

काठमाडौं क्षेत्र नम्बर ३ की मतदाता अधिकारीले मतदानलाई सहिदहरूको बलिदानसँग जोड्दै लेखेकी छन्,‘अमूल्य मत दिँदा सहिदहरूलाई सम्झियौँ, परिवारको निराशा, अधुरा सपना, विदेशिनुपर्ने बाध्यता र बालबालिकाको भविष्य सम्झियौँ, नेपाल आमालाई सम्झियौँ।’

उनले यस निर्वाचनबाट असत्य र अन्यायमाथि सत्य र न्यायको जीत हुने विश्वास व्यक्त गर्दै सुशासन र स्थिरता कायम हुने अपेक्षा राखेकी छन्। साथै उनले सम्पूर्ण नेपालीमा ‘रंगीन विवेक’को कामना गर्दै होलीलाई सकारात्मक परिवर्तनसँग जोड्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

सामाजिक तथा राजनीतिक विषयमा स्पष्ट अभिव्यक्ति दिने कलाकारका रूपमा चिनिएकी अधिकारीले केही समयअघि पनि सार्वजनिक बहसको आवश्यकता औंल्याएकी थिइन्। उनले भावी प्रधानमन्त्रीका आकांक्षी केपी शर्मा ओली, गगन थापा र बालेन शाहलाई नीति र कार्यक्रमसहित साझा बहसमा आउन आह्वान गरेकी थिइन्।

उनको पछिल्लो सन्देशले होली पर्वलाई केवल उत्सव नभई लोकतान्त्रिक जिम्मेवारीसँग जोड्ने संकेत दिएको छ र सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।

Leave A Reply

Your email address will not be published.