सुचना, समाचार र मनोरन्जन

हिरो हिरोइनको नाम गोप्य राखेर केकीले थालिन‘स्टेशन’को काम,भदौ १९मा रिलिज

काठमाडौं :

पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् ।

सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा चलचित्रको शुभमुहूर्त गरिएको हो। मुहूर्त कार्यक्रममा चलचित्रका निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो।

अभिनेत्री केकी अधिकारीले नयाँ वर्षको अवसर पारेर यो चलचित्र निर्माणको घोषणा गरेकी थिइन्। निर्माण घोषणासँगै सार्वजनिक गरिएको ‘थिम पोस्टर’ले चलचित्रको विषयवस्तुप्रति दर्शकमाझ कौतुहलता जगाएको छ। पोस्टरमा एउटा पुरानो काठको दराज र त्यहाँभित्र केही रहस्यमय सामग्रीहरू देखिन्छन् । यसले चलचित्र सोसल ड्रामामा आधारित रहने संकेत गरेको छ।

२०८१ सालको सफल चलचित्र ‘बोक्सीको घर’ पछि केकीले सोही टिमसँगको सहकार्यलाई ‘स्टेशन’मा पनि निरन्तरता दिएकी छिन्। केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । चलचित्रको कथा पनि स्वयं भारतीकै रहेको छ। चलचित्रका निर्माता बद्री अधिकारी हुन्।

चलचित्रको मुहूर्त गरिए पनि निर्माण पक्षले यसमा अभिनय गर्ने कलाकारहरूको बारेमा भने अझैसम्म केही खुलाएको छैन। ‘स्टेशन’मा कुन(कुन कलाकारले मुख्य भूमिका निर्वाह गर्नेछन् भन्ने कुरालाई गोप्य राख्दै निर्माण टिमले दर्शकमाझ कौतुहलता कायम राखेको छ। केकी आफैं चलचित्रमा देखिनेछिन् वा निर्मात्रीको रुपमा मात्र रहनेछिन् भन्ने विषय पनि अझै प्रस्ट भइसकेको छैन।

तेस्रो सातादेखि छायाकंन सुरु गरिने तयारीमा रहेको यो चलचित्र आगामी भदौ १९ गते देशभरका सिनेमाघरमा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ।‘बोक्सीको घर’ जस्तो सामाजिक र गम्भीर विषयवस्तुलाई दर्शकले रुचाएका कारण केकीको यो नयाँ प्रोजेक्ट ‘स्टेशन’लाई पनि निकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.