काठमाडौं :
निर्देशक दीपेन्द्र के खनालले औपचारिक घोषणा नगरी नयाँ चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन अघि बढाएका छन्। काठमाडौंका विभिन्न स्थानमा सुटिङ भइरहेको यो चलचित्रको काम अबको एक साताभित्र सम्पन्न हुने तयारीमा छ।
पटकथा प्रोडक्सन र टुकी आर्ट्सको संयुक्त प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्र पूर्ण पारिवारिक कथामा आधारित छ। यसअघि गम्भीर र सामाजिक विषयवस्तुमा चलचित्र बनाउँदै आएका खनालले यसपटक दर्शकले आफूलाई सजिलै जोड्न सक्ने पारिवारिक विषय चुनेका छन्। चलचित्रमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा देखिँदैछन्।
“हामीले इमान्दार भएर सिनेमा बनाउने प्रयास गरेका छौँ,” निर्देशक खनालले भने, “दर्शकले मन पराउने मिठो कथा तयार पारिएको छ, पक्कै पनि यो सिनेमा उहाँहरूको रोजाइमा पर्नेछ।”
छायांकन सकिएलगत्तै पोस्ट प्रोडक्सनको काम सुरु हुने निर्माण पक्षले जनाएको छ। चलचित्रको प्रदर्शन मिति भने अझै सार्वजनिक गरिएको छैन। खनाल निर्देशित पछिल्लो चलचित्र ‘हरिबहादुरको जुत्ता’ रिलिज भइसकेको छ भने अर्को चलचित्र ‘क्याप्टेन साब’को छायांकन सकिएर प्रदर्शनको पर्खाइमा छ।