सुचना, समाचार र मनोरन्जन

सुरक्षा अभिनित ‘खेल’को ट्रेलरमा रहस्यमय कथा र काठमाडौंको इतिहास झल्काउने प्रयास

काठमाडौं :

सस्पेन्स थ्रिलर नेपाली फिल्म ‘खेल’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ। यस ट्रेलरमा प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ।

यो ट्रेलरमा शिक्षकले विद्यार्थीहरूलाई काठमाडौंको इतिहास पढाउँदै गरेका छन् भने केही अन्धविश्वास, रोगको प्रकोप र कालो जादुका विषयहरू पनि उठ्छन्। पुराना कलाकृति र शिलालेखहरूको दृश्यहरू छन्। साथीहरूबीचको मित्रता र असमझदारी दुवै देखाइएको छ। उनीहरू लुडो र अन्य खेलहरू खेलिरहेका छन्। अभिनेत्री सुरक्षा पन्तको अस्वाभाविक व्यवहार, हेना नगरकोटीको रहस्य सुल्झाउने प्रयास, र मोनिका थापा र समापिका गौतमको फरक गतिविधिले फिल्म रहस्य र डरको आभास दिन्छ।

ट्रेलरमा एउटा खेलपछि उत्पन्न हुने समस्याको चर्चा गरिएको छ । ूएउटा पौराणिक कथा, सदियौँदेखिको बन्धन, एउटा घातक खेल, मित्रताको बन्धन, ईर्ष्याद्वारा भ्रष्ट, अकाट्य भोगू जस्ता वाक्यांशहरूले फिल्मको रहस्यमय र डरलाग्दो वातावरणलाई थप बलियो बनाएका छन्। यसबाट थाहा हुन्छ कि यो चलचित्र साथीहरूको कथासँगै काठमाडौं उपत्यकाको उत्पत्ति र इतिहास पनि बताउँछ।

आगामी वैशाख १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा आधारित छ,जसमा अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका साथीहरूको कथा प्रस्तुत गरिएको छ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ। ट्रेलरमा यी साथीहरूको जीवनमा आउने रहस्यमय घटनाहरू र तिनले सामना गर्नुपर्ने चुनौतीहरूलाई देखाइएको छ।

फिल्मलाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन्। फिल्ममा सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो। निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह(निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन्। फिल्मको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन्। फिल्मको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन्।

ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन्। प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन्। फिल्मको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ।

Leave A Reply

Your email address will not be published.