सुचना, समाचार र मनोरन्जन

खेम र टेरियालाई लिएर ‘बसन्ती’ निर्माण गर्दै नारायण रायमाझी, शनिबारदेखि छायांकन

काठमाडौँ :

निर्माता तथा निर्देशक नारायण रायमाझीले नयाँ नेपाली सिनेमा ‘बसन्ती’को निर्माण घोषणा गरेका छन्। शुक्रबार आज बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको हो।

यसअघि पनि ‘बसन्ती’ नाममा सिनेमा निर्माण भइसकेको छ। २०५७ सालमा नीर शाहले यही नाममा सिनेमा निर्देशन गरेका थिए । उक्त सिनेमा उपन्यासकार डायमण्ड समशेर राणाको उपन्यास ‘बसन्ती’मा आधारित थियो। उक्त सिनेमा प्रदर्शनको २६ वर्षपछि सोही नाममा नारायण रायमाझीले नयाँ सिनेमा निर्माण गर्न लागेका हुन्।

यो निर्देशक रायमाझीको चौथो निर्देशकीय सिनेमा हो । यसअघि उनले ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरेका थिए। यी सवै सिनेमा बक्सअफिसमा सुपरहिट भएका थिए। असोज ३ गते भोलि शनिबारदेखि सिनेमाको काठमाडौं सेड्युलको छायांकन सुरु गरिने निर्देशक रायमाझीले बताए। सिनेमा काठमाडौं, पाल्पा, जनकपुर र बुटवलसँगै भारतका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ।

रिमा फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुने सिनेमाले कस्तो कथा प्रस्तुत गर्नेछ भन्ने विषय निर्माण पक्षले गोप्य राखेको छ। ‘बसन्ती’मा संगीतकार खेम सेन्चुरी र मोडल टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन्।

उनीहरूका साथै सिनेमामा सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल, हरि अधिकारीलगायत कलाकारको अभिनय रहनेछ।

निर्देशक रायमाझीले नै लगानी गर्ने सिनेमाको कथा रमेश बिजिले लेखेका हुन्। सिनेमाको मुख्य सह-निर्देशकमा चन्द्र कुमार भट्टराई, एशोसियट निर्देशकमा सुजता बस्याल राना, सह-निर्देशकका रूपमा यगे बहादुर राउत र सन्जीव चन्द रहेका छन्।

सिनेमाको गीतमा रमेश बिजि, लालगोपाल सुवेदी, बिबि अनुरागी र नारायण रायमाझीको शब्द रहनेछ । संगीतकारमा बिबि अनुरागी र नारायण रायमाझी रहने छन्। सिनेमा छायांकन शिव ढकालले गर्नेछन् । सह-छायांकारमा जयन्द्र रावल जोडिएका छन्।

नहकुल खड्काले सम्पादन गर्ने सिनेमामा रोशन विश्वकर्मा र रविता मगरको कोरियोग्राफी, श्यामश्वेत रसाइलीको साउन्ड डिजाइन तथा मिक्सिङ, दिनेश बिष्टको भिएफएक्स, धन बहादुर राई (सन्देश)को प्रोडक्सन डिजाइन, सेट डिजाइन तथा निर्माणमा हुम बहादुर बिक, आर्टमा धुर्व कार्की र श्रृंगार सरोज बुढाथोकी, ड्रेस डिजाइन श्रेया लो र लाइन प्रोड्युसरमा खेमराज अर्याल (मिराज) रहने छन्।

Protin
Leave A Reply

Your email address will not be published.