पोखरा,
नगरिक समाज कास्कीद्धारा वतावरण संरक्षणका लागि महाअभियान अन्र्तगत फिर्केखोला खोलाघर खाली गर्ने अभियानले पूर्णता नपाउँदै स्थगन भएकोमा ध्यानाकर्षण जनाएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरि समाजका संयोजक राम बहादुर पौडेलले राज्यको सम्पतिमा हुकुम्बासीको राज भएको भन्दै अहिले फिर्केखोला अतिक्रमण रोक्न काम सुरु भएको बेला फत्ते गरेरै छोड्न दवाव दिएका हुन ।
अभियान रोकिँदा फिर्केखोला संरक्षण, सौन्दर्यकरण तथा व्यवस्थित उपयोगको दीर्घकालीन लक्ष्य प्रभावित हुने उनीहरूको भनाइ छ। फिर्केखोला करिब ८ किलोमिटर लामो प्राकृतिक खोला हो, जसले पोखरा महानगरपालिकाका वडा नं. १८, २, ४, ५, ८, ७, ६ र १७ हुँदै फेवातालको गाईघाटमा समाहित हुन्छ। जैविक विविधता र पर्यावरणीय सन्तुलनका दृष्टिले यो पोखराको महत्वपूर्ण प्राकृतिक सम्पदा रहेको सरोकारवालाको भनाइ छ।
अभियानकर्ताका अनुसार विगत १५ वर्षदेखि नागरिकस्तरबाट ‘फिर्केखोला बचाउ अभियान’ तथा ‘फिर्के–बुलौंदी खोला बृहत् सफाइ अभियान’ सञ्चालन हुँदै आएको छ। फेवातालदेखि सराङकोटको फेदी अँधेरीकुनासम्म करिडोर, पैदलमार्ग र साइकल लेन निर्माण गर्ने दीर्घकालीन परिकल्पनासहित दबाबमूलक अभियान चलाइँदै आएको उनीहरूले स्मरण गराएका छन्।
उनीहरूका अनुसार पछिल्ला वर्षहरूमा अनियन्त्रित अतिक्रमण, फोहरमैला व्यवस्थापनमा कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनमा भएको लापरबाहीका कारण फिर्केखोलाको प्राकृतिक स्वरूप र अस्तित्व संकटमा पर्दै गएको छ।
नेपाल सरकारको अतिक्रमणविरुद्धको अभियानअन्तर्गत फिर्केखोलामा पनि डोजर अभियान सञ्चालन गरिएको थियो। प्रारम्भिक चरणमा उत्साहका साथ सुरु भएको अभियान केही दिनमै सेलाउँदै गएर स्थगित भएको भन्दै अभियानकर्ताले यसलाई फिर्केखोला करिडोर अभियानलाई असफल बनाउने कदमको रूपमा व्याख्या गरेका छन्।
उनीहरूको भनाइमा खोलाघरमा बनेका सबै संरचना हटाइनुपर्ने भए पनि केही वडामा पर्खाल, गौंडा तथा पक्की भवनहरू समेत हटाउन नसकिएको छ। यसलाई केही जनप्रतिनिधिको निरीहताको परिणाम भएको आरोप पनि उनीहरूले लगाएका छन्।
कुन–कुन क्षेत्रमा संरचना अझै हटाइएन?
वडा नं. ४ मा पर्स्याङ पुल क्षेत्र, भयरस्थान, साबिक स्काउट कम्पाउण्ड आसपासका टहरा तथा पक्की भवन अझै हटाइएको छैन।
वडा नं. ५ मा स्काउट कम्पाउण्ड, रेडियो नेपाल, रिठेगौंडा, जिल्ला रेडक्रस पुल, पोखरा इन्जिनियरिङ कलेज, मगर समाज घर, बराल समाज घर, राधाकृष्ण मन्दिर क्षेत्र, गहते तथा लिटिल स्टेप स्कुल आसपासका संरचना अझै यथावत् रहेको दाबी गरिएको छ।
वडा नं. ७ मा मासबार–रत्नचोक पुल आसपासको पर्खाल, गहते क्षेत्र, लिटिल स्टेप स्कुल आसपास तथा मालपोत नजिकको कुखुराघरसमेत हटाइएको छैन।
अभियानकर्ताले खोलाघरमा आंशिक रूपमा मात्र संरचना हटाएर अभियान रोक्नुले अतिक्रमण नियन्त्रणको उद्देश्य नै कमजोर बनेको बताएका छन्। उनीहरूले फिर्केखोलालाई प्राकृतिक सम्पदा र सार्वजनिक सम्पत्तिका रूपमा संरक्षण गर्न बाँकी रहेका सबै संरचना कानुनी प्रक्रियाअनुसार हटाई अभियानलाई पुनः प्रभावकारी रूपमा अघि बढाउन पोखरा महानगरपालिका तथा सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, फिर्केखोला करिडोर निर्माण, पैदलमार्ग, साइकल लेन तथा हरित क्षेत्र विकासको दीर्घकालीन योजना कार्यान्वयन गर्न पनि आग्रह गरेका छन्।