सुचना, समाचार र मनोरन्जन

भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी

सोलुखुम्बु/

खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ । पसिनाले निथ्रुक्क भिजेको शरिर । आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ । बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उनी पिठ्युँमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।

यो बाटो अन्य यात्रुलाई रित्तो हिँड्न पनि हम्मेहम्मे पर्दछ । तर उनका लागि यही उकालो नै परिवारको जीवन धान्ने गतिलो माध्यम बनेको छ । उमेरले २६ वर्षमात्र पुगेका कुलुङको घर सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ गुदेल हो । निम्नवर्गीय परिवारमा जन्मिएका उनले सानैदेखि सङ्र्घषसँग साक्षत्कार गरे। सानै उमेरमा आमा गुमाएका उनको घरमा अहिले बुबा, श्रीमती र दुई साना छोरा छन् । बालबच्चाको शिक्षादीक्षा र सिङ्गो परिवारको पालनपोषण गर्ने जिम्मेवारी कुलुङकै काँधमा छ । परिवारको गुजारा चलाउन र बालबच्चाको शिक्षादीक्षाको खर्च जुटाउन दैनिकजसो भारी बोक्नु उनको बाध्यता हो ।

“हाम्रो जिन्दगी यसरी नै चल्छ । यो काम नगरी बाँच्न सकिँदैन”, निधारको पसिना पुच्दै उनी भन्छन् । दैनिक जीवनको लागि काठ, खाद्यान्न, जस्तापाता र अन्य सामग्रीका भारी बोकेर उकाली चढ्दा कुलुङ दिनभरि पसिना बगाउछन् । भारी बोक्ने एक दिनमा उनले रु दुई हजार पाँच सयदेखि तीन हजारसम्म कमाउछन्, तर यो कमाइले परिवारको आवश्यकता पूरा गर्न हम्मेहम्मे पर्छ ।

बढ्दो महँगी र घट्दो आर्थिक उपार्जनले कुलुङजस्ता धेरै युवाको गुजारा कठिन अवस्थामा धकेलेको छ । तर यही आम्दानीलाई मुख्य स्रोत मान्दै भारी बोक्नुपर्ने बाध्यता यहाँका बेरोजगार युवामा छ ।उकालोमा पसिनाको कथा
सुर्केबाट लुक्लासम्मको यात्रामा उकाला मात्र छैनन्, खुड्किला–खुड्किला परेको अप्ठ्यारो बाटो पनि छ । यो बाटोमा भारी बोक्दै उकाली चढ्नु चानचुने कुरा होइन । भारी बोक्दा थाकेर कुलुङ केही समय विश्राम गर्छन् । त्यहीबेला लामो श्वास फेर्दै उहाँ भन्छन्, “यो जिन्दगी सजिलो छैन ।”

कुलुङका अनुसार खुम्बु क्षेत्रमा काम गर्ने भरियाको कामले मात्र स्थानीय ढुवानी प्रणाली धानेको छ । सडक अभावमा सामान ओसार्न भरियाकै भर पर्नुपर्छ । आकाश कुलुङ एक प्रतिनिधि पात्रमात्र हुन् । खुम्बु क्षेत्रका सयौँ भरियाको जीवन यस्तै छ । महाकुलुङ, सोताङ र आसपासका विकट गाउँका युवा रोजगार खोज्दै खुम्बु पुग्छन् । भारी बोक्ने कामले उनीहरूको परिवारको जीविका धानेको छ । तर यो कामले न उनीहरूको जीवन सजिलो बनाएको छ, न भविष्यको ग्यारेन्टी नै गरेको छ । सुर्केसम्म सडक विस्तार भइसकेको छ, तर त्यसभन्दा माथि सडक पुगेको छैन । यसले गर्दा लुक्ला र आसपासका क्षेत्रमा भरियाको माग छ ।

Leave A Reply

Your email address will not be published.