सुचना, समाचार र मनोरन्जन

पोखरामा प्रथम ‘किङ्स कप’ राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा

पोखरा,

पोखरामा आयोजना हुन लागेको प्रथम ‘किङ्स कप’ आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा आगामी मंसिर ९ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा देशका उत्कृष्ट ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका लागि खेलमैदान व्यवस्थापन, खेलाडी तथा टोलीको सहभागिता, पुरस्कार वितरण र आवश्यक व्यवस्थापकीय तयारी पूरा भएको आयोजकले जनाएको छ।

क्लबका कार्यक्रम संयोजक थमन गुरुङका अनुसार प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी गरिएको छ। क्लबका सचिव अशोक थापाले प्रतियोगितामा नेपालका उत्कृष्ट ६ टोलीको सहभागिता रहने जानकारी दिनुभयो।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिबल संघ र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन्।

Pach Pandav

प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ र तृतीय हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। चौथो स्थान हासिल गर्ने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

राष्ट्रियस्तरका उत्कृष्ट टोलीको सहभागिताले प्रतियोगितालाई प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने अपेक्षा आयोजकको छ। प्रतियोगितामार्फत पोखराको खेलकुद गतिविधि प्रवर्द्धन गर्नुका साथै राष्ट्रिय भलिबलको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

प्रतियोगिताको तयारी तथा व्यवस्थापनको जिम्मेवारी क्लबका अध्यक्ष अशोक गुरुङ, सचिव अशोक थापा, कार्यक्रम संयोजक थमन गुरुङ र खेल संयोजक बुद्ध सिंहले सम्हाल्नुभएको छ।

प्रथम ‘किङ्स कप’ ले पोखरालाई राष्ट्रिय भलिबलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.